झापामा साना उद्योग खुल्ने क्रम बढ्यो

इनेप्लिज २०७२ असार २३ गते ४:२६ मा प्रकाशित

Jhapa_nepal-mapसुरुङ्गा (झापा), २३ असार । झापामा साना उद्योग खुल्ने क्रम बढेको पाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय झापाले दिएको जानकारीअनुसार आव ०७१÷७२ मा जिल्लामा ७४१ वटा साना उद्योग दर्ता भएका छन् । अघिल्लो आव ०७०÷७१ मा ४८१ वटा साना उद्योग दर्ता भएको कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार आव सुरु भएयता जेठको मसान्तसम्ममा उत्पादनमूलक २३७, कृषि तथा वन ३०५, सेवामूलक १९०, पर्यटन चार र निर्माण पाँच वटा सानो उद्योग दर्ता भएका छन् ।

सोही अवधिमा अघिल्लो आवमा उत्पादनमूलक १९३, कृषि तथा वन ११३, सेवामूलक १५४, पर्यटन १९ र निर्माण दुई वटा गरी ४८१ वटा साना उद्योग दर्ता भएका थिए ।

वाणिज्यतर्फ एक हजार १२२ वटा फर्म दर्ता भएका छन् । अघिल्लो आवमा ९१४ वटा मात्र फर्म दर्ता भएका थिए । उद्योग अधिकृत मिश्रका अनुसार साना उद्योग दर्ताबाट मात्रै यो आव रु ५० लाख ३६ हजार ७०० राजस्व सङ्कलन भएको छ भने वाणिज्यतर्फ दर्तामार्फत रु एक करोड ५० लाख ७० हजार ५४५ गरी रु दुई करोड १० लाख राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आव उद्योगतर्फ रु ४६ लाख एक हजार ४०० मात्र राजस्व सङ्कलन भएको बताइएको छ । विदेशिएका युवा स्वदेश फर्किएर आफैँ फर्म दर्ता गरेर व्यवसाय सञ्चालन गर्न थालेसँगै साना उद्योग खोल्ने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख गापीप्रसाद घिमिरेले बताउनुभयो ।

खुलेका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वन रहेको र विदेशबाट फर्किएका युवासमेत त्यसतर्फ बढी आकर्षित भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया