बर्दिया, २२ असार । बर्दिया खैरीचन्दनपुर गाविसका किसान वर्षौ पहिलेदेखि गर्दै आएको धान, गहुँ, मकैखेती छाडी आधुनिक केराखेतीतर्फ आकर्षित भएका छन् ।
खैरीचन्दनपुर– २ कालाबन्जारका २५ जना किसानले आधुनिक केरा खेतीबाट यथेष्ट आम्दानी भएको देखेपछि अन्य किसान पनि आकर्षित भएका छन् । हरियाली कृषक समूहमा आबद्ध उक्त समुहले रु दुई लाखको लागतमा एकवर्ष अघिदेखि एक बिगाह जमिनमा सामूहिक केराखेती गरिरहेका छन् । सामूहिक केराखेतीबाट अहिलेसम्म रु चार लाख ६२ हजारको केरा बिक्री गरिसकिएको हरियाली कृषक समूहका अध्यक्ष मुक्तिनारायण पौडेलले बताउनुभयो ।
अरु खेतीभन्दा केराखेतीमा फाइदा भएको र खेती गर्न पनि सजिलो भएका कारण गाउँका अन्य किसान पनि केराखेती तर्फ आकर्षित भई व्यक्तिगत रुपमा केराखेती सुरुवात गरेको वरिष्ठ कृषि अधिकृत हिक्मतकुमार श्रेष्ठ बताउनुहुन्छ । कृषिका तालिममा विभिन्न ठाउँमा जाँदा आफूले केराखेती गरेको देखेर आकर्षित भई समूहमा सल्लाह गरी समूहगत रुपमा केराखेती सुरु गरेको उहाँले बताउनुभयो ।
हरियाली कृषक समूहलाई कृषि विकास कार्यालयले रु एक लाख बराबरको अनुदान सहयोग गरेको छ ।
प्रतिक्रिया