चितवनमा एक सय उन्नाइस जनामा डेङ्गु

इनेप्लिज २०७२ असार २२ गते ३:३८ मा प्रकाशित

dengue-fever-signs-precautionरत्ननगर (चितवन), २२ असार । चितवनमा यो आर्थिक वर्षको अहिलेसम्म ११९ जनामा डेङ्गु लागेको पुष्टि भएको छ ।

कुल एक हजार ६७८ को नमुना परीक्षणमा ११९ लाई डेङ्गु रोग लागेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले आज जानकारी दिनुभयो ।

उहाँका अनुसार वर्षा लागेपछि डेङ्गुका बिरामी बढ्ने गरेकाले चेतनामूलक कार्यक्रम सुरु गर्न लागिएको हो । प्राविधिकलाई प्रशिक्षण सम्पन्न भइसकेको र आजबाट भरतपुर क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गर्न लागिएको केसीले बताउनुभयो । आजदेखि तीन दिनसम्म अभियान चलाइने छ ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने भएकाले यस्ता खाली भाँडामा पानी राख्न नहुने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैका लागि चेतना दिन र पानीमा रहेका लार्भा तथा प्युपा नष्ट गर्न घरघरमा अभियान सञ्चालन गर्न लागिएको केसीले बताउनुभयो । गमला, टायर तथा फालिएका प्लास्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ । जसबाट लामखुट्टेको विकास भई सङ्क्रमित मानिसबाट स्वस्थ मानिसमा रोग सार्ने गर्दछ ।

चितवनमा २०६७/६८ सालमा डेङ्गुको माहामारी फैलँदा पाँचजनाले ज्यान गुमाएका थिए । विसं २०६९ थप एकको मृत्यु भएको थियो । त्यसपछि जिल्लामा हरेक वर्ष सयौँ मानिस डेङ्गुबाट प्रभावित हुँदै आएका छन् । यो रोगबाट बच्न लामुखुट्टेबाट जोगिनुपर्ने चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया