बनेपा, २१ असार । काभ्रेपलाञ्चोकको तीनवटा गाविसमा दिगो वन व्यवस्थापनको कार्यक्रम सुरु भएको छ । खासगरी जिल्लाको चौबास, मेथिनकोट र ढुङ्खर्क गाविसमा अध्ययन तथा अनुसन्धानका लागि वन व्यवस्थापनको कार्यक्रम सुरु भएको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्ला वन उपभोक्ता महासङ्घको समन्वयमा जिल्ला वन कार्यालय र फरेस्टी एक्सनले त्यहाँ रहेका वन उपभोक्ता समूहको स्वीकृतिमा वन व्यवस्थापन सुरु गरेको हो । कार्यक्रमअन्तर्गत तीनवटा गाविसका चारवटा सामुदायिक वनमा सो कार्यक्रम सुरु भएको र तीमध्ये पनि एक–एकवटा सामुदायिक वन उपभोक्ता समूहलाई परीक्षणका रुपमा छनोट गरिएको जिल्ला वन उपभोक्ता महासङ्घ काभ्रेपलाञ्चोकले जनाएको छ ।
दिगो वन व्यस्थापनको कार्यक्रम चौबासको धारापानी सामुदायिक वन उपभोक्ता समूह, ढुङ्खर्कको कालापानी सामुदायिक वन उपभोक्ता समूह र मेथिनकोटको सापारुपा सामुदायिक वन उपभोक्ता समूहमा लागू भएको हो । “पहिले वन नै सखाप हुन्छ कि भन्ने मानसिकता भयो तर अहिले वन व्यवस्थापनको कुरा हाम्रो जीविकोपार्जनका लागिसमेत राम्रो रहेछ भन्ने थाहा भयो”, धारापानी सामुदायिक वन उपभोक्ता समूहकी उपभोक्ता सुशीला कुँवरले भन्नुभयो ।
उहाँले वन व्यवस्थापनका लागि करिब तीन महिनाको तालिमसमेत लिएको जानकारी दिँदै वन व्यवस्थापनबाट आयआर्जन पनि बढ्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख गणेश रायले वन व्यवस्थापनसँगै बिरुवाको पुनः उत्पादन गरिनुका साथै बिरुवा नउम्रे त्यहाँ बिरुवाको वृक्षरोपणसमेत हुने बताउनुभयो ।
उहाँले २०३५ सालमा अस्ट्रेलियन वन परियोजनाले नाङ्गा डाँडामा रोपेको सल्लाको रूखलाई विस्थापित गरेर नयाँ जातको बिरुवाको संरक्षणमा जोड दिइने जानकारी दिँदै सल्लाका रूख अहिले झन्डै ४० वर्षका पुगिसकेका छन् तर यसको व्यवस्थापन नभए खेर जाने हुन सक्छ भन्नुभयो । फरेस्टी एक्सनका नयाँ शर्माले वनको अध्ययन र अनुसन्धानका लागि यस्तो प्रक्रिया अपनाइएको उल्लेख गर्दै यसबाट जैविक विविधतामा देखिने प्रभाव र माटोमा देखिने प्रभावको समेत अध्ययन गर्न खोजिएको बताउनुभयो ।
जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जिल्लामा कुल २५ हजार हेक्टरमा वन भएकामा करिब १० हजार हेक्टरमा सल्लाको वन रहेको तथ्याङ्क छ । जिल्लामा खोटे, गोव्रे, पाटे जातका सल्ला छन् ।
प्रतिक्रिया