क्षतिको विवरण सङ्कलन गर्न समिति गठन

इनेप्लिज २०७२ असार १९ गते ३:४९ मा प्रकाशित

ilam_nepal_mapइलाम, १९ असार । वर्षापछि भएको क्षतिको विवरण पेस गर्न सडक, जिल्ला प्राविधिक, इलाम नगरपालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक सम्मिलित एक अनुगमन तथा मूल्याङ्कन समिति गठन गरिएको छ ।

समितिमा जिल्ला प्राविधिक कार्यालयका रामप्रिय यादव, सडकका सुदीपकुमार झा, इलाम नगरपालिकाका मेघनाथ ढुङ्गाना र खानेपानीका एकजना प्राविधिक रहेका छन् । जिल्ला दैवीप्रकोप उद्वार समितिको शुक्रबार बसेको बैठकले तीन दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको हो ।

वर्षापछि गएको पहिरोले जिल्लाका एक दर्जनभन्दा बढी कृषि सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा कृषिजन्य सामग्री बजारसम्म पुर्‍याउन सकिएको छैन भने बजारबाट दैनिक उपभोग्य सामग्री ग्रामीण भेगतर्फ लैजान सकिएको छैन । गठित समितिले प्रतिवेदन पेस गरेपछि राहत वितरण सुरु गरिने जिल्ला दैवी प्रकोप उद्वार समितिका अध्यक्ष विष्णुकुमार कार्कीले बताउनुभयो ।

उद्वार समितिका अनुसार ९८ घर पूर्णरुपमा र ८० घर आंशिक क्षति भएका छन् । क्षतिको विवरण अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया