म संविधान जारी भएर छिट्टो कालोकोट लगाएर अदालत जान चाहन्छु

इनेप्लिज २०७२ असार १७ गते १२:१४ मा प्रकाशित

DSC05715-800x532

प्रमुख चार दलले गरेको १६ बुँदे सहमतिको आधारमा मस्यौदा समितिले संविधानकोपहिलो मस्यौदा तयार पारेर संविधानसभामा बुझाएको छ । त्यसमा छलफल समेत प्रारम्भ भईसकेको छ तर सँगसँगै मस्यौदालाई च्यात्ने देखि जलाउने सम्मको काम गरेर नयाँ विवाद सुरु भएको छ । यस्तो अवस्थामा संविधान जारी गर्ने विषयमा आशंका उत्पन्न हुन थालेको छ । अहिलेको अवस्था, विवाद , संविधान जारी गर्ने बातावरण र भावी समिकरण लगायतका विषयमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी

नेपाली जनताको चाहना अनुसार तपाईहरुले संविधानसभाबाट संविधान दिने हुने भयो होईन त ?
निश्चय पनि अब संविधानसभाबाट संविधान निर्माणको आधार तयार भएको छ । केही समय पश्चात नेपालले, नेपाली जनताले धेरै समयदेखिको चाहना पुरा भएको देख्न पाउने छन ।

कहिलेसम्म नेपाली जनताको त्यो चाहना पुरा होला ?
साह्रै चाँडो । मसँग त्यसको प्रष्ट खाँका छ । अहिले म दलहरुसँग छलफल गरिरहेको छु । संविधानसभामा छलफल गरिरहेको छु । त्यसैले अहिले यो मिति भनेर त भन्न सक्दिन तर निक्कै चाँडो हामी संविधान पाउँछौ । संविधान निर्माणको आधार तयार भयो ।

कुन विधीबाट नेपाली जनताले संविधान पाउँछन ?
फास्ट ट्रयाक, सुपरफास्ट ट्रयाक भन्ने कुरा नेताहरुले चाडो भन्ने अर्थमा भन्ने गर्नु भएको मैले पाएको छु । तर म त्यो शब्द प्रयोग गर्दिन । संविधान, नियम, विधी प्रक्रिया बमोजिम अलि चाँडो संविधान जारी हुन्छ । सामान्य कार्यतालिका अनुसार विगतको कार्यतालिका अनुसार जाने हो भने अझै पनि तीन महिना भन्दा बढी समय लाग्छ । तर अब त्यसरी गईराख्नु आवश्यक छैन । केही प्रक्रियाहरु छोट्याएर जानु पर्छ । उदाहरणकोलागि संविधानको विद्येयकमा संसोधन दिनको लागि सभासदहरुलाई सात दिनको समय दिनु पर्छ अहिलेको नियम अनुसार तर संसोधनको लागि सात दिनको समय दिईरहनु पर्दैन । नियम निलम्बन गरेर त्यसलाई एक वा दुई दिनमा छोट्याउन सकिन्छ । छिटो प्रक्रिया भनेको मैले बुझेको यो हो ।

जनताले मस्यौदा कतिदिनसम्म पढेर सुझाव दिन पाउँछन ?
जनताले प्रयाप्त समय पाउनु हुन्छ । त्यो कति समय दिने, कुन प्रक्रियाबाट दिने भनेर दलहरुको विचमा छलफल चलिरहेको छ । संविधानसभामा म छलफल चलाईरहेको छु । अहिले संविधानको मस्यौदा संविधानसभामा पेश भएको छ । अब त्यसमा बिहीबारबाट छलफल सुरु हुन्छ । यही विचमा जनतामा जाने लगायतको प्रक्रियाको बारेमा टुङगोमा पुर्याउनको लागि म काम गर्छु । आज भोलीमै यति समय पाउनु हुन्छ भन्ने घोषणा गर्छौ ।

असार मसान्त भित्र मुलुकले संविधान पाउँछ ?
मेरो ब्यक्तिगत हिसावमा भन्नु हुन्छ भने असार मसान्त वा साउन १४ गते सम्ममा देशले संविधान पाओस भन्ने मेरो प्रयास हुन्छ ।
प्रधानमन्त्रीले जनतामा संविधान लैजान थप केही समय दिनु पर्छ भन्नु भएको छ ?
मैले भनेको पनि विधी र प्रक्रिया नै हो । विधी र प्रक्रियाबाट जानु पर्छ भनि सबैभन्दा बढी अडिने पनि म नै हु । म कानूनको विद्यार्थी हु । मैले छोटो प्रक्रियाबाट गरौ भनेको विधी प्रक्रिया विरुद्ध गरौ भनेको होईन ।

सभासदहरुले आफ्नो विचार राख्दा त लम्बिन सक्छ नि ?
समय लम्बिने र छोट्टीने भन्दा पनि आवश्यक समय दिनु पर्छ । आवश्यक संविधान नियम र प्रक्रिया बमोजिम संविधानसभाबाट पहिलो पटक हामी संविधान बनाउँदैछौ । ६० वर्ष भन्दा बढी समयदेखिको जनताको चाहना पुरा हुने वाला छ । त्यसैले हामी यसबारेमा अलिकति पनि यताउति नगरी कन आवश्यक समय दिएर संविधान नियम र प्रक्रिया बमोजिम संविधान जारी हुन्छ ।

तपाईकै अगाडि मस्यौदा च्यातियो, यसलाई कसरी लिनु भएको छ ?
म सबैलाई सकारात्मक कुराहरुलाई लिएर अगाडि जान आब्हान गर्दछु । बैठकमा कमलथापाहरुले नियमापत्ति अन्र्तगत नै आफ्नो धारणा बैठकमा राख्नु पाउनु भएको थियो । अरु सभासदहरुलाई पनि मैले बोल्न दिए तर मैले के भने भने यो तपाईहरुको नियमापत्ति होईन । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा पेश नै गर्नु भएको थिएन । अनि मस्यौदा भित्रको कुरामा के आपत्ति गर्ने ? अहिले कसैले पनि संविधान निर्माणको प्रक्रियालाई बहिस्कार गरेका छैनन । धेरै ठूलो सहमति भएको छ । बहिस्कार गर्ने भन्ने मित्रहरुले पनि संविधानसभाको समितिको प्रक्रियामा भाग लिनु भएको छ । फरक मत राख्नु भएको छ । त्यसकारणले कोही पनि प्रक्रिया भन्दा बाहिर छैन ।

तपाईले बोल्न नदिएपछि प्रदिप गिरीले त संविधानसभा बाहिस्कार गर्नु भयो नि ?
मैले यही कुरा राखेको हु । त्यसकारणले यसलाई यही ढंगले लिऔ । संविधान निर्माणको प्रक्रियामा सभाका काम कारवाहीहरुमा विरोध, आफ्ना कुराहरु राख्ने लगायतका कुराहरु भईरहन्छन । यसलाई यही रुपमा लिनु पर्छ ।

तपाई सहमति, सहकार्य र एकताको पक्षपाति तर यस पटक त्यस्तो त हुन सकेन नि ?
देशमा साह्रै धेरै तिक्तता भएको थियो । प्रमुख प्रतिपक्षी सहितका दलहरु प्रक्रिया भन्दा बाहिर रहेका थिए । अहिले को कस्को प्रयासले संविधान निर्माणको प्रक्रियामा अहिले सबै दलहरु सहमतिमा उभिन आई पुगेका छन । यस कुरालाई हेक्का राखौ । दलहरुका विचमा अन्तिम समयसम्म नै विवादहरु रहन सक्छ । तर मुख्य कुरा के हो भने प्रक्रियाको सन्दर्भमा दलहरु अहिले कहाँ उभिन पुगेका छन त ? भन्दा बृहद सहमति भएको छ । र जसले विरोध गर्नु भएको छ उहाँहरुले पनि आफ्नो कुरा राख्नु भएको छ । त्यसलाई अन्यथा मान्नु हुँदैन । तपाईहरुले र्संविधानसभामा पेश भएको मस्यौदा समितिले तयार पारेको मस्यौदा हेर्नुस । फरक मतले पनि प्रवेश पाएको छ । सिंगो संविधानसभा एक जुट भएको छ । यो हाम्रो प्रयासले एक जुट बनाईएको हो ।

संघीयता विनाको संविधान आउने भयो भनेर मधेसवादी दलहरुले मस्यौदा नै च्यातिसके ?
संविधाननिर्माणको प्रक्रियामा अन्तिम समयसम्मै संविधान जारी भईसकेपछि पनि फरक फरक कुराहरु आउन सक्छन । त्यसलाई सम्मान गर्नु पर्छ त्यो अन्यथा होईन । तर त्यसो आउनुको अर्थ के हो भने संविधान निर्माणको प्रक्रियामा दलहरु सहमत छैनन भन्ने कुरा होईन । मलाई नै यो संविधानको सयमा सय कुरा चित्त नबुझेको हुन सक्छ । मेरो सबै कुरा नपरेको हुन सक्छ । तर संविधान निर्माणको प्रक्रिया भनेको यही हो । मेरो सबै कुरा पर्दैन तर साझा दस्तावेज बनाउने हामीले प्रयास गरेका छौ । त्यही भएको छ । जहाँसम्म केही साथी भईहरुले अन्तिममा यसको विरोध गर्नु भयो । उहाँहरु सम्पूर्ण प्रक्रियामा सामेल हुनु भयो । फरक मत राख्नु भयो । प्रक्रियामा सहभागि हुनु भनेको सहमति हुनु हो । तर त्यसको बाबजुद पनि विरोध गर्ने कुरा डेमोक्रेटिक कुरा हो । उहाँले आफ्नो कुरा राख्नु भएको हो । त्यो त अन्तिममा पनि राख्नु हुन्छ । संविधान बनिसकेपछि जनताको विचमा जानु हुन्छ ।, दुई तिहाई बहुमत ल्याउने कोशिस गर्नु हुन्छ । दुई तिहाई बहुमत ल्याउनु भयो भने संविधान संसोधन गर्नु पर्छ । त्यसकोलागि त हामीले संविधान बनाएको हो । यो तपाई हाम्रो सफलता हो ।

संविधान लेखनमा अब बाधा अड्चन आउँदैननत ?
बाध अडचनहरु आउन सक्छन । त्यो भनेको संविधान जारी गर्न नसक्ने बाधा अडचन होईन । संविधान निर्माणको प्रक्रियामा आफ्नो कुरा राख्न पाउनुलाई एकदमै स्वभाविक मान्नु पर्छ । त्यस्तो ब्यवस्था म सकेसम्म गर्ने छु । उदाहरणकोलागि अहिले नै त्यो दस्तावेजमा फरकमत राख्न दिईएको छ । फरक मत राख्नेहरुलाई म बोल्न दिन्छु । उहाँहरु त्यो प्रक्रियामा सहभागि बन्नु हुन्छ । बास्तवमा संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया भनेकै यही हो । यही मार्फत हामी संविधान बनाउँछौ । साझा दस्तावेज बनाउछौ । यो नेपालको संविधान बास्तबमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान हुने छ ।

महिला आदीबासी, जनजातीको अधिकार त सुनिश्चित नहुने भयो नि ?
त्यो कसरी तपाईले भन्नु भयो तपाई नै जान्नुस । तर यो संविधान बनाईसक्दा यो संविधान महिला मैत्रि हुने छ, जनजाती मैत्रि हुने छ दलित मैत्री हुने छ । मानवअधिकार मैत्रि हुनेछ । खाली कुरा के हो भने तपाई हामीले चाहेको सयमा सय कुरा यसमा नहुन सक्दछ । त्यो स्वभाविक हो । किनभने यो साझा दस्तावेज हो, कुनै एक दल र समूदायको मात्रै होईन । यो साझा दस्तावेज भएकोले सकेसम्म आफ्नो अधिकारलाई सुनिश्चित गर्ने बाँकी रहेका अधिकारहरुलाई प्राप्त गर्नको लागि लड्ने ठाँउ बनाउने त्योयो संविधानले गरिदिएको छ त्यसैले यो संविधान राम्रो संविधान हुन्छ ।

प्रदेशको नाम र सीमा विनाको संविधान जारी हुने भयो नि त ?
त्यसमा त विवाद छैन । त्यसमा अहिले पनि कोशिश भईरहेको छ । मेरो कुरा भन्नु हुन्छ भने सबै कुरा टुङग्याएर जारी गरौ भन्ने छ । संसोधन हाले र अन्तिममा पारित हुँदा सम्म त्यसलाई पनि टुङग्याऔ । आखिर दलहरुले दुई घण्टााभित्र टुङग्याउछौ भनेर त भनेका हुन नि । त्यस्तो दुईघण्टा त अहिले पनि थुप्रै समय छ । त्यसकारण यसलाई लिएर नकारात्मक टिप्पणी नगरौ । के कुरालाई ध्यानमा राखौ त भन्दा ६० वर्ष भन्दा बढी लामो समयदेखिको नेपाली जनताको चाहना पुरा हुँदैछ । यही कुरालाई आधार बनाएर संविधान जारी गर्न सबैजना लागौ । संघीयताका कुराहरु संविधानमा छन । नाम र सीमाको सन्दर्भमा विशेष बाटो निकालिएको छ सहमतिको लागि तर यसलाई पनि अहिले टुङग्याऔ भन्ने मेरो प्रयास रहन्छ ।

बंशजको आधारमा नागरिकता दिदा महिला अधिकार कुण्ठित हुँदैन र ?
हो, यो गंभिर हो । म सबै कुरा पुरा होस भन्ने चाहना राख्छु तर एउटा कुरा पुरा भएन भने त्यो महिला मैत्रि भएन भनेर भन्न मिल्दैन । बाँकी रहेका कुराहरु त्यहाँ छन कि छैनन हेरौ ।

१६ बुँदे सम्झौताले त संविधानसभालाई रवर स्टाम्प बनायो नि ?
यो मान्न तयार छैन । नबुझेर यो भनेको हो । संविधानसभा बाहिर दलहरुले विभिन्न सहमति गर्न सक्छन । विभिन्न मोर्चाहरु गठन गरेका छन । तर संविधानसभाले संबाद समितिमा पठायौ, त्यहाँबाट सहमति भए नभएको कुरा मस्यौदा समितिमा पठायो । त्यसको आधारमा मस्यौदा बन्यो त्यसो भएको हुनाले यो कुनै दलवीशेषको हौईन । संविधानसभाको प्रक्रिया हो ।

सर्वोच्चले १६ बुँदे खारेज गर भन्यो तपाईले त्यसै अनुसार प्रक्रिया अगाडि बढाउनु भयो ?
सर्वोच्चले खारेज गरेको छैन, केही कुरामा ध्यान आर्कषित मात्र गरेको छ । सार्वभौम नेपाली जनताको प्रनिधित्वि गर्ने सस्था संविधानसभा हो । त्यसले संविधान निर्माणको प्रक्रियालाई अगाडि बढाउँन सक्छ त्यो अधिकार उसलाई छ । उसले संविधान बनाउँछ । उसले बनाएको संविधानलाई सम्मानित सर्वोच्च अदालतले ब्याख्या गर्न सक्छ । ब्याख्या गर्ने अधिकार उसमा छ यो कुरामा म एकदमै प्रष्ट छु । जनताको आदेश र विगतमा सर्वोच्च अदालतको बृहद बेञ्चहरुले के भनेको छ भने कुनै पनि निहँुमा संविधान निर्माणको प्रक्रियालाई ढिला नगर्नु । त्यही सन्दर्भमा विगतमा संविधानसभाका म्यादको विषयमा फैसला गरेको छ । त्यो सबैलाई अधार बनाएर संविधान निर्माणको प्रक्रिया एक सेकेण्ड नरोकीकन हामी अगाडि बढाईरहेका छौ । संविधान बनाउने अधिकार संविधानसभाको हो । नेपाली जनताको आदेश अनुसार संविधान बनाउने अधिकार संविधानसभाको हो ।

संविधान जारी भएपछि तपाईको पद पनि जाने भयो नि ?
कुनै पनि संविधानमा कुनै पनि ब्यक्तिको नाम लेखिएको पद हुँदैन । दोस्रो कुरा मलाई कुनै अलौकिक शक्ति आएर एक महिनामा संविधानसभा जान्छ तर त्यसले संविधान बनाउ्रँछ यो कुरा छान्छस कि १५ वर्षसम्म संविधानसभा अध्यक्ष खान पाउने तर संविधान नबनाउने छान्छस भने म त १५ दिनमै संविधान जारी गरेर त्यो बोकी सर्वोच्च अदालतमा बहस गर्न जान चाहन्छु ।

संविधान जारी भएपछि तपाई कुनै पदमा रहनु हुन्न ?
रहन्छु कि रहदिन त्यो नेपाली जनताको कुरा हो । पदको मेरोलागि कुनै अर्थ छैन । मेरो लागि छिटै, समयमै संविधान बन्नु पर्छ ,नेपाली जनताले संविधान पाउनु पर्छ भन्ने महत्व छ ।

तपाई छिटो संविधान बनाएर केपी ओलीलाई प्रधानमन्त्री बनाउन चाहनु हुन्छ ?
म यो देशका मान्छे, सभासद, राम्रा उपयूक्त ब्यक्तित्व प्रधानमन्त्री बनोस भन्ने चाहन्छु । त्यसभित्र केपी ओली पनि पर्नु हुन्छ । मैले अहिले गरिरहेको काम संविधान बनाउन हो । संविधान चाडौ नेपाली जनताको हातमा राखिदिन हो । त्यो संविधान बनेपछि केपी शर्मा ओलीमात्र होईन ऋषि धमला पनि प्रधानमन्त्री बन्न सक्छन । तर संविधान बनेन भने केपी शर्मा ओलीमात्रै होईन कोही पनि जनताको छोरा छोरी प्रधानमन्त्री बन्न नसक्ने स्थिति उत्पन्न हुन सक्छ ।

प्रतिक्रिया