चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, तीन गम्भीर घाइते

इनेप्लिज २०७२ असार १६ गते ४:५६ मा प्रकाशित

thunderstromeखोटाङ, १६ असार । छुट्टाछुट्टै ठाउँमा परेको चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ ।

गएराति पानीसँगै परेको चट्याङले सावाकटहरे–८ का ४० वर्षीय प्रेमबहादुर विश्वकर्मा र काहुले–३ की ३७ वर्षीया कमला राईको मृत्यु भएको हो ।

चट्याङले मृतक विश्वकर्माकी श्रीमती ३५ वर्षीया गीता विश्वकर्मा, काहुले–३ का २४ वर्षीया निर्मला राई र सोही स्थानका २५ वर्षीय मणीराज तामाङ घाइते भएका छन् ।

चट्याङका कारण बेहोस बनेका उनीहरूलाई स्वास्थ्य संस्थासम्म पु¥याउन प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो ।

राति करिब ९ः३० बजे परेको चट्याङले गीताको देब्रे तिघ्रामा गहिरो चोट लागेको स्थानीय चन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार चट्याङले विश्वकर्मा परिवारको एक माउ गाभिनो भैँसी र एउटा गोरुसमेत मरेको छ ।

भूकम्पले घर चर्किएपछि विस्थापित विश्वकर्मा परिवारमा बुबाको मृत्यु र आमा बेहोस बनेपछि छोराछोरीको विचल्ली भएको सामाजिक परिचालक निर्मला राईले जानकारी दिनुभयो । राईका अनुसार विश्वकर्मा दम्पतीको चार छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया