गोलबजार (सिरहा), १५ असार । सिरहाको लहान नगरपालिका–५ स्थित एक घरमा आज दिउँसै लुटपाट भएको छ । स्थानीयवासी दिनेश साहको घरमा लुटपाट भएको हो । भाग्ने क्रममा लुटेरा समूहका दुईजना पक्राउसमेत परेका छन् ।
पक्राउ पर्नेमा लहान नपा–५ कै महेश साह र गोलबजार नगरपालिका घर भएका सुनील साह छन् । महेश पीडितका सहोदर भाइ हुन् । दुवैजनालाई पक्रेर इलाका प्रहरी कार्यालय लहानको जिम्मा लगाइएको छ ।
अन्य लुटेरा भने फरार भएका छन् । पीडित परिवारका अनुसार सात÷आठ हूल बाँधेर लुट्न आएका थिए । फरार लुटेराहरुको खोजी भइरहेको लहान प्रहरीले जनाएको छ ।
लुटेराले घरबाट चार किलो चाँदीका गरगहना, दश आनाको सुनको तिलहरी र दुई थान मोबाइललगायतका सामान लुटेर लगेको पीडित साहले जानकारी दिनुभयो । उहाँका अनुसार लुटेर भाग्ने क्रममा लुटेराले छाडेका चार थान चाँदीका पाउजु (गहना) मात्र घर अगाडि फेला परेको छ ।
लुटपाट गरेसँगै पीडित साहकी श्रीमतीमाथि बलात्कारको प्रयाससमेत गरेका थिए । तर दिउँसोको समय हल्ला भएर स्थानीय बासिन्दा जुट्न थालेपछि बलात्कारको प्रयास असफल भएको पीडितको भनाइ छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले साहको घरबाट केही सामान लुटपाट र उहाँकी श्रीमतीमाथि बलात्कारको प्रयाससमेत भएको जानकारी दिनुभयो । घटनाका विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया