पूर्वाञ्चलमा आठ प्रतिशत रोपाइँ

इनेप्लिज २०७२ असार १५ गते ११:१६ मा प्रकाशित

ropainविराटनगर, १५ असार । पूर्वाञ्चलमा असारको मध्यसम्ममा मात्र ८ दशमलव ८ प्रतिशत धानबालीको रोपाइँ भएको छ ।

यस क्षेत्रअन्तर्गत १६ जिल्लाका धानखेती गरिने कूल पाँच लाख १३ हजार ४५६ हेक्टर जग्गामध्ये मात्र ४५ हजार १२० हेक्टर जग्गामा रोपाइँ भएको छ । पूर्वाञ्चल कृषि निर्देशनालय विराटनगरका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा नगण्यरुपमा रोपाइँ सम्पन्न भएको छ । व्यवस्थित रुपमा सिँचाइको व्यवस्था नहुनु र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने भएकाले समयमा नै रोपाइँ हुन सकिरहेको छै्रन् ।

गत वर्ष मनसुन ढिलो आए पनि सोही अवधिमा १४ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । सो कार्यालयको तथ्याङ्क अनुसार, मोरङमा ११ दशमलव १ प्रतिशत, झापामा ७ दशमलव ५, सुनसरीमा ८ दशमलव ६, सिरहामा १ दशमलव ८ र सप्तरीमा १ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

त्यसैगरी, पाँचथरमा ८ दशमलव ८ प्रतिशत, ताप्लेजुङमा ८, इलाममा ७ दशमलव ६ र धनकुटामा ५ दशमलव ९ प्रतिशत रोपाइँ सम्पन्न भएको सो कार्यालयका बाली संरक्षण अधिकृत अरुण घिमिरेले जानकारी दिनुभयो । सोही अनुरुप, तेह्थुममा सबैभन्दा बढी ५२ दशमलव ३ प्रतिशत, सङ्खुवासभामा २८ दशमलव ६, भोजपुरमा ११ दशमलव ६, उदयपुरमा ८ दशमलव ४, खोटाङमा १२ दशमलव ५, ओखलढुङ्गामा १० दशमलव २ र सोलुखम्बुमा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

प्रतिक्रिया