यार्सा टिपेर फर्किने क्रममा सेती नदीमा चार जना बेपत्ता

इनेप्लिज २०७२ असार १४ गते १०:१५ मा प्रकाशित

yarsagumba0.gifभीमदत्तनगर, १४ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा यार्सागुम्बा टिपेर फर्किने क्रममा सेती नदीमा बगेर चार जना बेपत्ता भएका छन् ।

यहाँको काँडा गाविसको यार्सा टिप्ने स्थान श्यानवन र चाल्लावनबाट यार्सा टिपेर घर फर्किने क्रममा सेती नदी तर्दा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटना आइतबार दिउँसो ३ः३० बजेको भए पनि सीमा प्रहरी चौकीलाई आज मात्रै खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले बताउनुभयो ।

सेती नदीमा बेपत्ता हुनेमा कैलाश गाविस–१ का २५ वर्षीय महेश सिंह, सोही गाविसका ४० वर्षीय सुन्ते शाही, कैलाश–४ का २८ वर्षीय सुवन सिंह र कैलाश–६ का ४० वर्षीय डम्बरबहादुर सिंह बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

“एक्काइस जनाको टोली यार्सा टिपेर फर्किदै थियो” प्रहरी नायब उपरीक्षक अधिकारीले भन्नुभयो– “चार जना बगेको सुनिएको छ ।” खबर पाउनासाथ सीमा प्रहरी धुलीका प्रमुख प्रहरी नायब निरीक्षक नारायणबहादुर चन्द नेतृत्वको टोली घटनास्थलतर्फ हिँडेको छ ।

उक्त टोलीलाई घटनास्थल पुग्न १२ घन्टा पैदल हिँड्नुपर्छ । बझाङको सदरमुकाम चैनपुरबाट चार दिनको पैदलदूरीमा पर्ने घटनास्थल जान निकै कठिनाइ रहेको छ । “वर्षाका कारण हेलिकप्टर लैजानसमेत समस्या छ ।” अधिकारीले भन्नुभयो– “प्रहरी टोली पुगेपछि आधिकारिक जानकारी आउने छ ।”

प्रतिक्रिया