वर्षा र हावाहुरीले आँप महोत्सव प्रभावित

इनेप्लिज २०७२ असार १३ गते ९:२३ मा प्रकाशित

mangoलहान, १३ असार । आँप तथा कृषिजन्य वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सप्तरीको कुशहामा जारी सप्तरी आँप महोत्सव तथा बृहत् कृषि मेला प्रदर्शनी वर्षाका कारण प्रभावित भएको छ ।

कुशहा गाविस– २ स्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको श्रीपुर चोकमा गत शुक्रबारदेखि सुरु भएको आँप महोत्सव शनिबार बिहानदेखिको वर्षाका कारण प्रभावित भएको हो । महोत्सवस्थलमा बनाइएका कक्षमा क्षति पुग्नुका साथै महोत्सवस्थल हिलाम्मे भएको छ । तीन दिनसम्म मात्र चल्ने महोत्सव सुरु भएको भोलिपल्ट शनिबारबाट वर्षा सुरु भएपछि प्रभावित भएको उद्यमशील कृषक सहकारी संस्थाका अध्यक्ष रामवीर चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा करिब एक लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब रु तीन करोडबराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको थियो । सो महोत्सवमा आँपका विभिन्न परिकारलगायत स्थानीय खाद्य परिकार, कला संस्कृति प्रदर्शन, स्थानीय भाषाका गीत, नृत्य तथा झाँकी प्रदर्शनको कार्यक्रम राखिएको थियो ।

जिल्लामा उत्पादन हुने आँपलाई राष्ट्रियस्तरमा पहिचान गराउनुको साथै आँप उत्पादक किसानलाई उत्साहित बनाउन पहिलो पटक महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुणकुमार प्रधानले बताउनुभयो ।

प्रतिक्रिया