छोरीले पनि काजक्रिया गर्न पाउनुपर्ने माग

इनेप्लिज २०७२ असार १३ गते ४:५७ मा प्रकाशित

विराटनगर, १३ असार । नेपाल महिला सङ्घले महिलामैत्री निर्वाचन क्षेत्रको घोषणा हुनुपर्ने मागसहितको १६ बुँदे ‘विराटनगर घोषणापत्र’ जारी गरेको छ ।

सो सङ्घद्वारा शनिबार साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष डिला सङ्ग्रौलाले पाँच विकास क्षेत्रबाट प्राप्त सुझाव समेटेर तयार पारिएको घोषणापत्रमा प्रथाका नाममा समाजमा हुने बालविवाह, अनमेल विवाह, छाउपडी तथा देउकी जस्ता प्रथा निर्मूल हुनुपर्ने बुँदा राखिएको जानकारी दिनुभयो ।

छोरीले पनि मृतक आमाबाबुको मलामी जान र काजक्रिया गर्न पाउनुपर्ने, मठमन्दिरमा पुजारी बस्न पाउनुपर्ने, एकल महिला, अपाङ्गता भएका, दलित, मधेसी, आदिवासी, जनजातिलगायत पिछडिएका समुदायलाई विभिन्न सुविधा प्रदान गरी नीतिनिर्माण तहमा पुर्‍याउनुपर्नेलगायत विषय घोषणापत्रमा समेटिएका छन् ।

महिला सङ्घले महिलाका अधिकार तथा सशक्तीकरणका लागि यही असार ४ गते पश्चिमाञ्चलकोे लमजुङ्बाट भेला प्रारम्भ गरेको थियो ।

प्रतिक्रिया