वीरगन्ज, १२ असार । भौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधिले मुलुकभरका सडक निर्माणका लागि आफ्नो मन्त्रालयले यस वर्ष रु ३० अर्ब बजेट छुट्याएको बताउनुभएको छ ।
वीरगन्ज–पोखरीया सडकखण्डअन्तर्गत विन्ध्यवासिनी–पोखरीया सडकखण्डको कालोपत्र निर्माण कार्यको शिलान्यासपछि आज पोखरीयामा आयोजित कार्यक्रममा उहाँले विगतमा ठेकेदार कम्पनीको गैरजिम्मेवारीपनका कारण जिल्लाका विकास निर्माणका अधिकांश योजना समयमा पूरा नभएकाले सरकारले अब समयमा गुणस्तरीय काम गर्नेलाई पुरस्कार र समयमा काम नगरी भाग्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने नीति लिएको जानकारी दिनुभयो ।
वीरगन्ज–पथलैया सडकखण्ड छ लेनको निर्माणलाई तत्काल अगाडि बढाइने बताउँदै उहाँले भन्नुभयो, “मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि राज्यले सडक र पुलपुलेसाजस्ता भौतिक संरचनाको निर्माण कार्यलाई विशेष प्राथमिकता दिइएको छ ।”
डिभिजन सडक कार्यालय हेडौँडाका प्रमुख रवीन्द्रलाल दासले करिब रु १४ करोड ११ लाखको लागतमा विन्ध्यवासिनीदेखि पोखरीयासम्म आठ किमी बाटो दुई वर्षभित्र कालोपत्र गर्नका लागि आशिष एन्ड डिएस निर्माण कम्पनी हेटौँडासँग सम्झौता भइसकेको जानकारी दिनुभयो ।
सभासद् सुरेन्द्रप्रसाद चौधरी, जयप्रकाश थारु, राजकुमार गुप्ता, राधेचन्द्र यादव र रामअयोध्या यादवले जिल्लाको विकासका लागि महत्वपूर्ण मानिएको वीरगन्ज–पोखरीया–जानकीटोल–ठोरी सडक तथा आत्माराम पथको स्तरवृद्धि र कालोपत्र हुन नसक्नु नै जिल्लाको विकासको मुख्य बाधकका रुपमा देखिएको गुनासो गर्नुभयो ।
भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्वसभासद् अजयकुमार द्विवेदी, ओमप्रकाश शर्मा र रामेश्वर रौनियार, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी, नेकपा (एमाले)का नेता प्रह्लाद गिरी, जिविस पर्साका पूर्वसभापति जनार्दनसिंह क्षेत्री लगायतले जिल्लाको सामग्र विकासका लागि विभिन्न सडकको निर्माण, स्तरवृद्धि र कालोपत्रका लागि मन्त्री निधिलाई ध्यानाकर्षण गराउनुभयो ।
यसअघि मन्त्री निधिले वीरगन्ज–पोखरीया सडकखण्डअन्तर्गत विन्ध्यवासिनी– पोखरीया सडकखण्डको कालोपत्र निर्माण कार्यको पोखरीयामा शिलान्यास गर्नुभएको थियो ।
प्रतिक्रिया