चितवनका दुई गाविसमा पुनः विवरण सङ्कलन गरिने

इनेप्लिज २०७२ असार ११ गते ९:४४ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), ११ असार । चितवनका दुई गाविसमा भूकम्पको क्षतिबारे विवरण पुनः सङ्कलन गरिने भएको छ ।

स्थानीय तहबाटै जिल्लाले सङ्कलन गरेको विवरण अपूर्ण भएको र वैज्ञानिक नभएको भन्दै विरोध गरेपछि प्राविधिक टोली खटाएर पुनः विवरण सङ्कलन गर्न लागिएको हो ।

चितवनको विकट काउले र कोराक गाविसमा यसरी नयाँ विवरण लिन लागिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

पूर्णविवरण नआएको र वैशाख २९ गतेको भूकम्पले पनि क्षति पुगेकाले सबैलाई समेटेर पुनः विवरण सङ्कलन गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।

उहाँले वर्षामा असर पुग्ने खालका घरलाई समेत समेटेर राहत दिने गरी विवरण सङ्कलन गर्न लागिएको बताउनुभयो । केही दिनभित्रै प्राविधिक टोली खटाएर विवरण सङ्कलन गरिने सिंहले बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले नै निर्णय गरिसकेको पनि उहाँले बताउनुभयो ।

यसअघिको विवरणमा काउले गाविसमा २१२ घर पूर्णक्षति भएको र ८६३ घर आंशिक क्षतिसहित गरी कुल एक हजार ७५ घरमा क्षति पुगेको विवरण सङ्कलन गरेको थियो ।

यस्तै, कोराक गाविसमा ७६ पूर्णक्षतिसहित ३६९ घरमा क्षति पुगेको विवरण थियो । काउले गाविसमा स्थानीय राजनीतिक दल, नागरिक समाज तथा गाविसले नै क्षतिको विवरण वैज्ञानिक नभएकाले पुनः विवरण सङ्कलन गर्नुपर्ने निर्णय गर्दै जिल्ला विपद् समितिमा ज्ञापनपत्र पेस गरेको थियो ।

भूकम्पबाट क्षति पुगेका धेरै घरको विवरण सङ्कलन नभएको, भएका विवरणसमेत वैज्ञानिक नभएको र वैशाख २९ गते आएको भूकम्पको क्षतिको मूल्याङ्कन नै नगरिएको भन्दै हालको विवरणलाई स्वीकार नगरिएको काउले गाविसका स्वास्थ्य चौकी इन्चार्ज धनकुमार खड्काले जानकारी दिनुभयो ।

उहाँले स्थानीय स्वतःस्फूर्त आक्रोशमा आएकाले गाविसले बाध्य भएर उक्त निर्णय गरेको जानकारी दिनुभयो ।

सो क्षेत्रमा पुनः विवरण सङ्कलन नभएसम्म परिचयपत्र वितरण, प्रारम्भिक आर्थिक सहयोग वितरण तथा घरमा स्टिकर लगाउने कार्यसमेत पूर्णरुपमा अवरुद्ध भएको छ ।

अहिलेसम्मको विवरणमा जिल्लामा १६ गाविस, एक उपमहानगर र पाँच नगरपालिकामा गरी कुल २३ हजार ९२८ घरमा क्षति पुगेको विवरण छ ।

अन्य क्षेत्रमा भने परिचयपत्र वितरणको काम जारी छ ।

प्रतिक्रिया