चुलिँदै सिटी सफारी विवाद

इनेप्लिज २०७२ असार १० गते ११:२० मा प्रकाशित

IMG_1418-1200x400धरान, १० असार । धरानमा आउन लागेको सिटी सफारी विद्युतीय रिक्सा सञ्चालन विवाद झन झन चुलिँदै गएको छ ।

उक्त विवाद सफारी सञ्चालनको उद्घाटनदेखि नै सुरु भएको हो । नगरमा सिटी सफारी आउने भएपछि नगरभित्र हाल सञ्चालनमा रहेका टेम्पो तथा रिक्सालाई असर पर्ने भन्दै टेम्पो तथा रिक्सा चालक मजदुरले विरोध जनाएका हुन् । विरोध गर्दागर्दे पनि बिना दर्ता नगर क्षेत्रभित्र सफारी कुदाउन थालेपछि यसले झन उग्र रुप लिएको हो । बुधबार सफारी चालकले टेम्पो चालकललाई हातपात गरेपछि विवादले झन उग्र रुप लिएको छ ।

मजदुरहरुबीच कुटाकुट भएपछि टेम्पो तथा रिक्सा मजदुरले धरान सिटी सफारी सङ्घको कार्यलयको बोर्ड तोडफोड गरेका थिए । उनीहरुले उप–महानगरपालिका कार्यायलमा धर्नासमेत दिएका थिए । उप–महानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले शुक्रबारसम्ममा सर्वपक्षीय भेला बोलाउने भनेपछि मजदुर काममा फर्किएको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घका अध्यक्ष लक्ष्मी बाँनियाले बताउनुभयो ।

उप–महानगरपालिकाले धरानमा १२५ वटा सिटी सफारी चलाउनका लागि अध्ययन गरी विशेषज्ञसँग परामर्श गर्ने र इन्जिनियरिङ परिक्षण गर्ने तयारी गरिरहेको जनाए पनि हतार गरेर एउटा समूहले बजारमा सिटी सफारी सञ्चालनमा ल्याएपछि विवाद सुरु भएको हो । सिटी सफारीलाई यातायात व्यवस्था विभागले उप–महानगरपालिकाको सिफारिसमा मात्रै दर्ता गर्ने प्रावधान रहेको छ, भने सफारी मुख्य राजमार्गमा कुदाउन नपाइने व्यवस्था रहेको छ ।

धरान सिटी सफारी व्यवसायी सङ्घले आफूले नियमसम्मत् लगानी गरेर व्यवसाय गर्न पाउनुपर्ने माग राखेको छ । सङ्घका अध्यक्ष सुदर्शन श्रेष्ठले धरानलाई स्वच्छ र सुन्दर सहर बनाउनका लागि सिटी सफारी आवश्यक भएको बताउनुभयो । यसैगरी सङ्घर्ष समितिका संयोजक राम तामाङले आफूहरुले नयाँ प्रविधि आएकोमा विरोध गरेको नभई बिसौँं वर्षदेखि यही क्षेत्रमा मजदुरी गर्दै आएका मजदुरको रोजीरोटी खोसिएकोमा विरोध जनाएको बताउनुभयो ।

हाल यहाँ ४७० वटा टेम्पो र ४२६ वटा रिक्सा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया