भूकम्पपछिको पुनःनिर्माणमा एडिबीले रु २० अर्ब सहयोग गर्ने

इनेप्लिज २०७२ असार १० गते ११:११ मा प्रकाशित

काठमाडौँ, १० असार । एसियाली विकास बैंक (एडिबी) ले भूकम्पपछिको पुनःनिर्माणका लागि तत्काल रु २० अर्ब सहयोग गर्ने भएको छ ।

बैंकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष ताकेहिको नाकाओले उक्त सहयोग विद्यालय, स्वास्थ्य चौकी, ग्रामीण सडक पुनःनिर्माणमा लगानी गरिने बताउनुभयो ।

उक्त सहायताका अतिरिक्त बैंकले नेपाललाई थप रु ४० अर्ब सहयोग गर्न लागेको जानकारी उहाँले दिनुभयो । उहाँले नेपालको पुनःनिर्माणलाई गति दिन बैंकले उपलब्ध गराएको रकम सामाजिक क्षेत्रमा नै खर्च गरिने बताउनुभयो ।

एडिबीले रु ७०० विद्यालयका करिब सात हजार कक्षा कोठा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यसमा पाँचवटा नमुना विद्यालय निर्माण गरिनेछ । सूचना तथा सञ्चार प्रविधि उपकरण र प्रयोगशालासमेत त्यसमा समावेश गरिएको छ ।

त्यसैगरी, सहायता अन्तर्गत १३५ किलोमिटर रणनीतिक महत्वको सडक र भूकम्प प्रभावित जिल्लामा ४५० किलोमिटर सडक पुनःनिर्माण गर्ने लक्ष्य छ भने तीन सयवटा जिल्लास्तरीय सरकारी भवनलाई भूकम्प प्रतिरोधात्मक बनाइनेछ ।

प्रतिक्रिया