तिब्बत र नेपालको सीमा क्षेत्रमा व्यापार मेला सुरु

इनेप्लिज २०७२ असार ८ गते ४:४३ मा प्रकाशित

Mustang_district_locationमुस्ताङ, ८ असार । नेपाल र तिब्बतको सीमा क्षेत्रमा सोमबारदेखि व्यापार मेला सुरु भएको छ ।

नेपाली सीमादेखि ११ किलोमिटरको दूरीमा तिब्बतका व्यापारीले साताव्यापी व्यापार मेला सुरु गरेका हुन् । मेलामा तिब्बतमा उत्पादित लत्ताकपडा, फर्निचरका सामान र विभिन्न किसिमका कस्मेटिक सामान खरिद गर्न नेपाली व्यापारीको भीड लाग्न थालेको छ । मेलामा जाने नेपालीलाई तिब्बतको झाङवासेन जिल्लाका अधिकारीले निश्चित अवधिको परिचयपत्र बनाएर सामानको कारोबार गर्न पाउने व्यवस्था मिलाएको छ ।

यसअघि नेपालीहरूले त्यहाँका सुरक्षाकर्मीले उनीहरूको भूमि प्रवेश रोक लगाउँदै आएका थिए । साताव्यापी रूपमा हुने व्यापार मेलाबाट थुप्रै कारोबार हुने लोमान्थाङका इन्द्रधारा विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार वर्षको दुईपटक आयोजना हुने व्यापार मेलामा तिब्बतमा उत्पादित सामान बढीमात्रामा बिक्री हुन्छ । अघिल्ला वर्षमा नेपाल र खासगरी सीमा क्षेत्रका व्यापारीबीच सहकार्य गरेर व्यापार मेला आयोजना हुने गरिए पनि यस वर्षदेखि तिब्बतका व्यापारीले एकतर्फी रूपमा आयोजना गरेका छन् ।

नेपाली उत्पादन, गलैँचा, आलुलगायतका व्यापार हुने गरिए पनि त्यो परिणाम एकदमै कम हुने गरेको बताइएको छ । साताव्यापी रूपमा सुरु भएको मेलामा हुने अवैध रूपमा सामान लिने परम्परालाई रोक्न यस वर्ष सरकारले भन्सार विभागको सम्पर्क कार्यालय पनि स्थापना गरेको जनाएको छ । उक्त कार्यालयमा सीमित जनशक्ति भएकाले सीमा प्रशासन कार्यालयसँग समन्वय गरेर काम सुरु गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया