थाइल्याण्ड नेपाली सङ्घले माझीवस्तीमा ४६ घर बनाइदिने

इनेप्लिज २०७२ असार ७ गते ४:४३ मा प्रकाशित

मेलम्ची, ७ असार । थाइल्याण्ड नेपाली सङ्घले मेलम्ची नगरपालिका–१२ आरुबोटेस्थित गाउँमा नमुना माझी वस्ती निर्माण गरिदिने भएको छ ।

सङ्घले उक्त वस्तीमा भूकम्प प्रतिरोधी ४६ घर, एक सामुदायिक भवन, एक प्राथमिक स्वास्थ्य केन्द्र, घरैपिच्छे शौचालय र खानेपानीका धारा निर्माण गरिदिने थाइ नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संस्थाले प्रतिघर निर्माणका लागि रु दुई लाख ५० हजार खर्च गर्ने जानकारी दिँदै माझी वस्तीलाई नमुना वस्तीको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

अहिले उक्त वस्तीमा गत वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि भत्केका संरचना पन्छाउने कार्य भइरहेको सङ्घका प्राविधिक सल्लाहकार नारायण दुलालले जानकारी दिनुभयो ।

भूकम्पबाट उक्त गाउँमा मात्र पाँचजनाको मृत्यु भएको थियो भने घरगोठसहित ६५ घर पूर्णरुपमा ध्वस्त भएका थिए ।

प्रतिक्रिया