प्रभावकारी बन्दै मेलमिलाप केन्द्र

इनेप्लिज २०७२ असार ७ गते १:५३ मा प्रकाशित

Baglung_district_locationबागलुङ, ७ असार । अदालतमा भएका मुद्दाहरु मेलमिलाप गरि टुङ्गाउने क्रम बढेको छ । पारिवारिक विवाद, लेनदेन, जग्गा, व्यापार, व्यवसाय जस्ता देवानी प्रकृतिका मुद्दामा मिलापत्र हुने क्रम बढेको हो । बागलुङमा पनि अदालतमा भएका मुद्दाहरुलाई मिलापत्रको माध्यमबाट समाधान गर्ने क्रम बढेको जिल्ला अदालतले जनाएको छ ।

जिल्ला अदालतमा भएको मेलमिलाप केन्द्रमार्फत् त्यस्ता मुद्दाहरु मिलापत्र गरि टुङ्गाउने गरिएको जिल्ला न्यायाधीस जगतप्रसाद श्रेष्ठले बताउनुभयो । दुवै पक्षको सहभागीतामा छलफल र समझदारीपछि मेलमिलापकर्ताको सहयोगमा मिलापत्र गराउने गरिएको न्यायाधीस श्रेष्ठको भनाई छ ।

गत आवमा जिल्ला अदालतमा परेका मध्ये १७ वटा मुद्दा मिलापत्रमा टुङ्गिएका थिए । यस्तै, यो वर्ष ५६ वटा मुद्दा मेलपिलापको लागि आएको जिल्ला अदालतले जनाएको छ । जसमध्ये २६ वटामा मिलापत्र भईसकेको, १५ वटा मिलापत्रको प्रकृयामा रहेको र केही सुरु हुन लागेको अदालतका श्रेस्तेदार मोहनबहादुर अधिकारीले बताउनुभयो ।
अदालतले अधिकारीसहित तालिमप्राप्त मेलमिलापकर्ताहरु मेलमिलाप केन्द्रमा खटाएको छ । श्रेस्तेदार अधिकारीका अनुसार मिलापत्र गर्दा आफैले रोजेको मेलमिलापकर्ताको सहयोग लिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया