सङ्घीय समाजवादी फोरम नेपालको घोषणापत्र सार्वजनिक

इनेप्लिज २०७२ असार ६ गते १२:०३ मा प्रकाशित

party-merge2-339x218काठमाडौँ, ६ असार । सङ्घीय समाजवादी फोरम नेपालले संविधानसभाको निर्वाचनपछि देखा परेको देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन पहिचानसहितको सङ्घीयता र समाजवादका पक्षधर सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएको छ ।

मधेसी जनअधिकार फोरम, सङ्घीय समाजवादी पार्टी र खस समावेशी राष्ट्रिय पार्टीको एकीकरणपछि पार्टीको घोषणापत्र सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नीति, सिद्धान्त र विचार मिल्ने राजनीतिक शक्तिहरु एकीकृत हुन आवश्यक रहेकामा जोड दिइयो ।

पार्टीको घोषणापत्रमा विगतमा भएका क्रान्तिका उपलब्धिलाई नेपालको संवैधानिक व्यवस्था तथा आदिवासी जनजाति, मधेसी तथा खस समुदायसँग राज्यले गरेका सम्झौताअनुरुप संविधानसभामार्फत् संस्थागत गर्न सके नेपालमा स्वतन्त्रता, समानता र सामाजिक न्यायका साथै जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक, विभेद, शोषण एवम् उत्पीडनको अन्त्य हुने उल्लेख छ ।

नेपाली जनताको जातीय, पहिचान, सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र, स्वायत्तता, स्वशासन, समानुपातिक, प्रतिनिधित्व, सामाजिक न्याय र सामाजिक सुरक्षालगायत अग्रगामी एजेन्डा कार्यान्वयन गराउन एउटा वैकल्पिक राष्ट्रिय शक्तिको आवश्यकता औँल्याउँदै उक्त पार्टीको गठन भएको उल्लेख छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले हालै प्रमुख राजनीतिक दलबीच भएको सोह्रबुँदे सहमतिलाई सङ्घीयता र समावेशीता रोक्ने षड्यन्त्रका रुपमा आफूले लिएको बताउनुभयो ।

जातीय राज्यलाई निरन्तरता दिन वर्तमान सरकार लागिपरेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “एकल जातीय राज्यलाई निरन्तरता दिनकै लागि प्रमुख दलबीच यो सम्झौता भएको हो ।”

प्रतिक्रिया