फोहरमैला व्यवस्थापन नहुँदा महेन्द्रनगर बजार दुर्गन्धित बन्दै

इनेप्लिज २०७२ असार ६ गते ६:१२ मा प्रकाशित

कञ्चनपुर, ६ असार । फोहरमैला व्यवस्थापनको कार्य नहुँदा कञ्चनपुरको महेन्द्रनगर बजार दुर्गन्धित बन्दै जान थालेको छ ।

भीमदत्तनगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि निश्चित स्थान छनोट गर्न नसक्दा बजारका विभिन्न क्षेत्रमा फोहर थुपार्ने गरेको छ ।

जताततै फोहरमैला थुपार्ने कार्य हुन थालेपछि बजार क्षेत्रमा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको छ ।

वर्षात्का बेला जथाभावी थुपार्ने फोहरमैलाले गर्दा सङ्क्रामक पानीजन्य रोग फैलिन सक्ने भएकाले नगरवासीले फोहर व्यवस्थापन गर्नका लागि माग गर्दै आए पनि सुनुवाइ नहुने गरेको बताएका छन् ।
बजारको विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको फोहरमैला नगरपालिकाका सफाइ कर्मचारीले २० वटा हाते ठेलागाडामार्फत नयाँ बसपार्क, स्मारक चोक, सञ्चारचोक र बजारका गल्लीका किनारामा थुपार्ने गरेका छन् ।

थुपारिएको फोहरमैला दिउँसोपखमात्रै ट्र्याक्टरको सहायताले उठाएर नगरपालिका कार्यालयको हाताभित्र र खाल्डाखुल्डी भएका ठाउँमा फाल्ने गरिएको छ । नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत हरिसिंह धामीले फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइट छनोट गर्न नसक्दा अप्ठ्यारो परेको बताउनुभयो ।

“डम्पिङ साइट नहुँदा बजार क्षेत्रबाट सङ्कलन हुने फोहरमैला ठाउँठाउँमा जम्मा गरी कार्यालय हाताभित्र फाल्ने गरेका छौँ” – उहाँले भन्नुभयो ।

नगरपालिकाको एक्लो प्रयासले मात्रै बजार क्षेत्रमा सङ्कलन हुने फोहरको व्यवस्थापन गर्न नसकिने भएकाले सबैले जिम्मेवारी सम्झेर व्यवस्थापनको कार्यमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

बजार क्षेत्रबाट जैविक र अजैविक गरी दैनिक २४ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकाले फोहर व्यवस्थापनका लागि मात्रै वार्षिक रुपमा रु एक करोड बढी रकम खर्चिने गरेको छ । फोहर व्यवस्थापनका लागि नगरपालिकाका कार्यालयले ३३ जना कर्मचारीलाई खटाएको छ ।

प्रतिक्रिया