अञ्चल आयुर्वेद अस्पतालको स्तरोन्नति हुने

इनेप्लिज २०७२ असार ६ गते ४:३२ मा प्रकाशित

7a486961512469457853508cfab638daबुटवल, ६ असार । लुम्बिनी अञ्चल आयुर्वेद औषधालयको स्तरवृद्धि तथा स्तरोन्नति हुने भएको छ ।

आयुर्वेद स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ स्थापित अञ्चलस्तरीय अस्पताल भए पनि यसले प्रदान गर्ने सेवा सञ्चालनका लागि चाहिने कुनै पनि पूर्वाधार नहुँदा यो अस्पताल व्यवस्थित हुन सकेको छैन । अस्पतालमा भौतिक पूर्वाधार, दक्ष जनशक्ति र साधनस्रोतको अभाव यसका मुख्य समस्या छन् । यसबाहेक यो अस्पताल सञ्चालनका लागि चाहिने व्यवस्थापन समिति र राज्यको सकारात्मक दृष्टिकोणको अभावलगायतका असङ्ख्य समस्याहरू रहेका छन् ।

अञ्चल औषधालयका दुई सामान्य किसिमका कार्यालय भवन भए पनि यहाँ चिकित्सक, औषधि र बिरामीको पनि अभाव छ । निःशुल्क बहिरङ्ग सेवा मात्र प्रदान गर्दै आइरहेको औषधालयका अनुसार निकट भविष्यमै १५ शय्यासहित अन्तरङ्ग सेवा पनि सञ्चालन गरिनेछ ।

आयुर्वेद चिकित्सा पद्धतिअनुरुप जनतालाई सेवा पुराउने उद्देश्यले २०२९ सालमा पाल्पाको रामपुरमा स्थापित सो आयुर्वेद औषधालय २०४३ सालमा बुटवलमा सारिएको हो । पुरानो भए पनि औषधालय उद्देश्यअनुरुप सञ्चालन हुन सकिरहेको छैन । यसले सीमित जनशक्ति र स्रोत साधनको प्रयोग गरी निःशुल्क स्वास्थ्य परीक्षण र औषधोपचार गर्दै आइरहेको छ ।

दैनिक १५–२० जनाले मात्र सो औषधालयबाट सेवा लिने गरेको निमित्त कार्यालय प्रमुख चेतनाथ आचार्य बताउनुहुन्छ । उहाँका अनुसार पछिल्लो समयमा योग तथा आयुर्वेद चिकित्साप्रति मानिसको रुचि बढ्दै गएको देखिए पनि सहभागिता सङ्ख्या भने सन्तोषजनक छैन । यहाँ वार्षिक करिब १७ हजार बिरामीको सेवा गरिएको आचार्यको भनाइ छ ।

अस्पतालको स्तरवृद्धिका विषयमा शनिबार बुटवलमा आयोजित छलफलमा आयुर्वेद विभागका आयुर्वेदविज्ञ वासुदेवप्रसाद उपाध्यायले बुटवलको अञ्चल आयुर्वेद औषधालयको स्तरवृद्धि र उन्नतिका साथै १५ शय्याको आधुनिक र सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने योजना रहेको बताउनुभयो ।

विभागका उपसचिव बाबुराम खनालले हाल बहिरङ्ग सेवा मात्र प्रदान भइरहेको सो औषधालयमा स्तरवृद्धिपछि अन्तरङ्ग सेवा पनि प्रदान गरिने बताउनुभयो । विभागका अर्का उपसचिव कृष्णप्रसाद गौतमले यहाँ योगाभ्यास, अक्युपङ्चर, होमियोप्याथी, शल्यचिकित्सा, प्रयोगशाला, अल्ट्रासाउन्डलगायत आधुनिक सेवा थपिने जानकारी दिनुभयो ।

प्रतिक्रिया