जनकपुरधाम, ५ असार । हरियो जनकपुर, सफा जनकपुरको अभियान सफल पार्न फोहर न्यून गर्ने अवधारणाको कार्यान्वयन गर्न जोड दिएको छ ।
आसमान नेपाल, जनकपुर उपमहानगरपालिका र युनेस्को नेपालद्वारा यहाँ आज आयोजित छलफल कार्यक्रममा सहभागीले फोहरका कारण वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको बताए ।
उपमहानगरपालिकाको तथ्याङ्कअनुसार जनकपुरमा प्रतिदिन ४१ टन फोहर उत्पादन भइरहेको तर उचित व्यवस्थापन नभएका कारण जनकपुर फोहर र दुर्गन्धित बनेको छ । उत्पादन भइरहेका फोहर व्यवस्थापन गर्ने सन्दर्भमा कागज, प्लास्टिक, सिसा, धातु जस्ताले समस्या जटिल बनाएको देखिएको छ ।
चेतनाको कमी, सार्वजनिकस्थलमा जथाभाबी फोहर फाल्ने प्रवृत्तिले पनि फोहर न्यून गर्न समस्या उत्पन्न गरेको छ । उपमहानगरपालिकाका यमुन भुजेलले पिसाबबाट मल बनाउने प्रविधितर्फ ध्यानाकर्षण गराउनुभयो ।
फोहर व्यवस्थापनकर्मी नवीनविकास महर्जनले फोहर व्यवस्थापनका लागि फोहरलाई स्रोतमै घटाउने, पुनःप्रयोग गर्ने, स्रोत परिचालन र आर्थिक विकासजस्ता पक्षलाई ध्यान दिनु जरुरी छ भन्नुभयो ।
कार्यक्रम संयोजक उमेश मण्डलले घरायसीस्तरमा मल बनाउने, कागज, कपडा वा जुटको झोलाको प्रयोग, हानिकारक फोहर खाल्डोमा पुर्ने, फाल्तु समान कवाडी व्यापारीलाई बेच्ने कार्य गरेमा हरियो जनकपुर र सफा जनकपुर अभियानलाई टेवा पुग्न सक्ने धारणा राख्नुभयो ।
नागरिक समाजका अगुवा अमरचन्द्र अनिलले फोहरबाट ऊर्जा उत्पादन गर्ने प्रविधिको विस्तारमा जोड दिनुभयो । राजनीतिकर्मी रामगोविन्द यादवले फोहरलाई मोहरका रुपमा परिणत गर्ने प्रविधिको स्थापना जरुरी छ भन्नुभयो ।
प्रतिक्रिया