प्राक्टिकल नम्बर हराउँदा जिल्लाकै नजिता आएन्

इनेप्लिज २०७२ असार ५ गते ३:२७ मा प्रकाशित

slcमुस्ताङ, ५ असार । प्राक्टिकल नम्बर हराउँदा हिमाली मुस्ताङको प्रवेशिका परीक्षाको नतिजा आउन सकेको छैन ।

जिल्ला शिक्षा कार्यालयले पठाएको प्राक्टिकलको नम्बर परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण हराउँदा जिल्लाको परीक्षाको नतिजा शून्य भएको हो ।

जिल्लाभरकै नतिजा नआएपछि यहाँका विद्यार्थी र अभिभावक आक्रोशित भएका छन् । उनीहरूले शुक्रबारै केही समय जिल्ला शिक्षा कार्यालयमा घेराउ गरेका थिए । एकमात्र परीक्षा केन्द्र रहेको जिल्लाबाट ११७ विद्यार्थी सहभागी भएका थिए ।

त्यसमा एकजना मात्रै एक्जेम्टेडतर्फका रहेको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयले आफूहरूको भविश्यमाथि खेलवाड गरेको भन्दै अभिभावक निरज थकालीले भन्नुभयो, “जिल्लाकै नतिजा नआउनु दुःखद् हो, यो गल्तीलाई तत्काल सच्याउन हामीले माग गरेका छौँ, “हुँदैन भने हामी कहाँ पुग्नुपर्छ पुग्छौँ ।”

जिल्लामा सात सामुदायिक र एक निजी विद्यालय गरी आठ विद्यालयबाट विद्यार्थी प्रवेशिका परीक्षामा सहभागी भएका थिए ।

जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले आफूहरूले उक्त नम्बर पठाएपनि केन्द्रबाट प्रक्रियामा नगएको बताउनुभयो । “हामीले पठाएको एक्जेम्टेडतर्फको विद्यार्थी नतिजा आएको छ, हामीले यसमा कुनै कमजोरी गरेका छैनाँै, जिशिअ न्यौपानेले भन्नुभयो, “यस विषयमा परीक्षा नियन्त्रण कार्यालयमा कुराकानी भएको छ, आइतबार सबै सच्चिएर आउँछ ।”

नतिजा नआउँदा आफूहरू पनि चिन्तित रहेको र अभिभावक एवम् विद्यार्थीमा आक्रोश र चिन्ता उत्पन्न हुनु स्वभाविक भएको उहाँले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया