आयआर्जन सुधार गर्न ‘होम स्टे’ बनाइँदै

इनेप्लिज २०७२ असार ४ गते १२:२२ मा प्रकाशित

home-stayइलाम, ४ असार । पूर्वको पर्यटकीय क्षेत्र इलाममा कृषि पर्यटनलाई समेत प्रवद्र्धन गर्न ‘होम स्टे’ बनाउन थालिएको छ ।

इलाम नगरपालिका–९ स्थित बालन गाउँको लिम्बू तथा नेवार बस्तीमा होम स्टे बनाउन थालिएको हो । सहरको होहल्लाभन्दा शान्त वातावरण मन पर्ने पर्यटकलाई लक्षित गरी सस्तो र रमणीय वातावराणमा पर्यटकलाई राख्ने उद्देश्यले होम स्टेको निर्माण गरिएको हो । नेपाल सरकार कृषि मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, कृषि उद्यम केन्द्रको सहकार्यमा होम स्टेका लागि रु ३५ लाख रकम विनियोजन भएको हो ।

आर्थिक अवस्था कमजोर भएका १० घर लिम्बू र नेवार बस्तीमा होम स्टेको माध्यमबाट आयआर्जनलाई वृद्धि गराउने मुख्य लक्ष्य राखिएको इलाम उद्योग वाणिज्य सङ्घकी अध्यक्ष सुशीला सापकोटाले जानकारी दिनुभयो । होम स्टे निर्माणको एक वर्षे कार्यक्रम भएकाले विभिन्न काम धमाधम भइरहेको सापकोटाले बताउनुभयो । यहाँ कृषिसम्बन्धी अवलोकन गर्ने पर्यटक, विद्यार्थीलगायत अन्य भ्रमणका लागि आउनेले थुप्रै अवलोकन गर्न सक्ने बनाइएको छ ।

इलाम उद्योग वाणिज्य सङ्घको सहकार्यमा होम स्टे निर्माण भइरहेको छ । होम स्टेसँगै १० घर लिम्बू बस्ती र नेवार बस्तीमा लोकल कुखुरापालनका लागि आर्थिक सहयोगसमेत गरिएको छ । यस्तै यहाँ गाई गोठ सुधारका कार्यक्रम, तरकारी उत्पादनलगायतमा उनीहरुलाई सहयोग गरिएको श्रेष्ठले जानकारी दिनुभयो । होम स्टेमा आउने पर्यटकले स्थानीय उत्पादन प्राङ्गारिक तरकारीसमेत खान पाउने छन् ।

होम स्टेका लागि बाटो सुधार गर्न रु पाँच लाख, होम स्टे कार्यक्रम सञ्चालन सहयोग गर्न रु २२ लाख ५० हजार, प्रसार प्रचारमा रु एक लाख, कृषि पर्यटन केन्द्र स्थापना गर्न रु पाँच लाख, कार्यालय सञ्चालन गर्न रु एक लाख ५० हजार, सामुदायिक भवनका लागि रु पाँच लाख गरी रु ३५ लाख विनियोजन गरिएको इलाम वाणिज्य सङ्घका सचिव मदन श्रेष्ठले जानकारी दिनुभयो ।

इलाम नगरपालिकादेखि करिब २० मिनेटको बाटामा चियाबारीको रमणीय दृश्य अवलोकन गर्दै होम स्टे पुगिनेछ ।

प्रतिक्रिया