रौतहट, २ असार । रौतहटको गरुडा नगरपालिकामा रहेको श्रीराम सुगर मिल्समा फर्जी चलान पुर्जी पेस गरेको आरोपमा प्रहरीले उखु उत्पादक सङ्घ रौतहटका पूर्व अध्यक्षसहित तीन जनालाई मङ्गलबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उखु उत्पादक सङ्घ रौतहटका पूर्व अध्यक्ष एवम् गरुडा नगरपालिका–९ बस्ने जयनाथ यादव, सोही नगरपालिका–६ बस्ने गङ्गा साह र अच्छेलाल साह रहेका छन् ।
तीनै जनालाई ठगी मुद्दामा जिल्ला अदालत गौरबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चिनी मिल्समा फर्जी चलान पेस भएको खुलासा भएपछि चिनी मिल्सले दिएको जाहेरीको आधारमा प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले विभिन्न स्थानका कृषकको नाममा विभिन्न समयमा २३ टन १७ किलो र २५ टन २४ किलो उखुको भुक्तानी माग दाबी लिएपछि चिनी मिलले कारबाहीका लागि जाहेरी दिएको थियो ।
तीनै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प्रतिक्रिया