पत्रकारलाई अवरोध गर्ने आयोजकको नीति थिएन-च्यारिटी शो कार्यक्रम संयोजक

इनेप्लिज २०७२ असार १ गते १०:३३ मा प्रकाशित

krishna-bhusal

गत शुक्रवार आबुधाबीमा सम्पन्न च्यारिटी शो कार्यक्रमका संयोजक  कृष्ण प्रसाद भुसालले एक बिज्ञप्ति जारीगर्दै पत्रकारलाई अबरोध गर्ने आयोजकको नीति नभएको उल्लेख गरेका छन् ।

गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष समेत रहेका भुसालले आइतवार साँझ बिज्ञप्ति जारी गर्दै कार्यक्रममा पत्रकारहरुलाई बन्देज लगाईएको सुन्दा दु:ख लागेको उल्लेख गरेका छन् । उनले बिज्ञप्तिमा संचारकर्मीलाई छुट्याइएको पास वितरण हुन नसक्नुलाई आयोजकको कमजोरी भएको स्वीकार गरेका छन् । ब्यबस्थापन पक्षबाट हुन पुगेको कमीकमजोरी र त्यसबाट कसैलाई ठेस  पुगेको भए भुसालले कार्यक्रम संयोजकको तर्फबाट क्षमा मागेका छन् ।

महानायक राजेश हमाल, दिपकराज गिरी र दिपाश्री निरौला, आस्था राउत  लगायत चर्चित राष्ट्रिय स्तरका कलाकारले भूकम्प पिडितको सहयोगार्थ निशुल्क प्रस्तुति गरेका उक्त कार्यक्रममा पत्रकारलाई सहज प्रवेश, समाचार संकलन र तस्विर लिन समेत स्वयंसेवकले पुर्याएको अवरोधको सर्वत्र बिरोध भएको थियो । सोहि कारण यूएईका अधिकांश संचारकर्मीले अहिलेसम्मकै ठुलो उपस्थितिका बीच सम्पन्न उक्त कार्यक्रमको समाचार समेत लेखेनन् । ३००० को हाराहारी दर्शक संख्या रहेका र नेपाली राजदूतावास आबुधाबिको संरक्षकत्वमा आयोजित उक्त कार्यक्रमको स्थानीय नेपाली संचारकर्मी र संचार गृहले तस्विर पनि सार्वजनिक गरेनन् ।

दैवीप्रकोप राहत तथा उद्धार समिति यूएईको आयोजनामा गत शुक्रवार आबुधाबीको मुश्रिफस्थित अल नाहदा नेसनल स्कुलमा भब्य रुपमा उक्त च्यारिटी शो भएको थियो । भुसाल उक्त समितिका संयोजक पनि हुन्  ।  आयोजक समितिले संचारकर्मीलाई ५ ओटा प्रेस पास दिने भनेर निर्णय गरेपनि उक्त पास संचारकर्मीलाई उपलब्ध गराइएको थिएन ।

यसैबीच भुसालले आफ्नो बिज्ञप्तिमा शनिवारका दिन यूएईका लागि नेपाली राजदुत धनन्जय झाले कलाकारको सम्मानार्थ आयोजना गरेका रात्रिभोज सहितको कार्यक्रमको बारेमा केहि संचार माध्यम र सामाजिक संजालमा भएको भ्रामक बहसको खण्डन गरेका छन् । यूएईका केहि समाजसेवीले कार्यक्रमबाट उठेको पैसाबाट मस्ती गरेको भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेपछि भुसालले त्यसलाई कडा रुपमा खण्डन गरेका हुन् ।

“कलाकारहरुलाई प्रशंसा पत्र सहित सम्मानार्थ महामहिम राजदुत ज्यू ले उक्त रात्रिभोजको कार्यक्रम आयोजना गर्नु भएको र कार्यक्रम सफल पार्न अहोरात्र खटिनु भएका सहयोगीहरुलाई समेत निमन्त्रणा प्राप्त भए बमोजिम सहभागिता जनाईएको समेत स्पष्ट पार्न चाहन्छु । कार्यक्रम मार्फत संकलित रकम र कलाकारको सम्मानमा आयोजित उक्त रात्रिभोज नितान्त फरक बिषय हो”  बिज्ञप्तिमा भनिएको छ । जारी बिज्ञप्तिमा उनले बिषयलाई तोडमोड नगर्न सबैमा अपिल गर्दै भनेका छन् “पिडित नागरिकको सहयोगसंग सम्बधित यस्ता अत्यन्तै संबेदनशिल बिषयलाई तोडमोड नगराउन र अनावश्यक भ्रम श्रीजना गरी सौहाद्रपूर्ण माहौललाई नभड्काउन म सम्बधित सबैमा हार्दिक अपिल गर्दछु” ।

भुसालद्वारा जारी बिज्ञप्ति यस्तो छ :

प्रेस बिज्ञप्ति

मिति : जुन १५, २०१५

दैवीप्रकोप राहत तथा उद्धार समिति यूएईको आयोजनामा भूकम्प पिडित नागरिकहरुको सहयोगका निम्ति गत शुक्रवार आबुधाबीमा आयोजित सांस्कृतिक कार्यक्रम दर्शकहरुको भब्य उपस्थितिका बीच सम्पन्न भयो । कार्यक्रममा नेपालबाट आई निशुल्क प्रस्तुति गर्नुभएका सम्पूर्ण कलाकारहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । कार्यक्रमलाई सफल बनाउन निरन्तर लागिपर्नु भएका आयोजक समिति अन्तर्गत बिभिन्न जिम्मेवारी सम्हाल्नु भएका साथीहरु, यूएईका सबै नेपाली संघ सँस्थाका प्रमुख, पदाधिकारी तथा सदस्यहरुमा मुरी मुरी धन्यवाद अर्पण गर्दछु । यो सबैको कार्यक्रम थियो, त्यसमा सबैले अत्यन्तै ठुलो सहयोग पुर्याउनु भएकामा खुशी व्यक्त गर्दछु ।

कार्यक्रमलाई उत्कृष्ट बनाउने प्रयत्न गर्दागर्दै केहि कमीकमजोरी हुन पुगेकामा दु:ख प्रकट गर्दछु । ठुलो संख्यामा दर्शकको उपस्थितिका कारण ब्यबस्थापन पक्ष कमजोर रहेको स्वीकार गर्नै पर्दछ । पत्रकार मित्रहरुलाई कार्यक्रममा बन्देज लगाईएको भन्ने गुनासाहरु सुन्दा अत्यन्तै दु:ख लागेको छ । पत्रकारहरुलाई कार्यक्रममा कुनै किसिमको अवरोध पुर्याउने आयोजक समितिको नीति नरहेको सम्बद्ध सबैमा म स्पष्ट गराउन चाहन्छु । आयोजक समितिले संचारकर्मीलाई छुट्याएको पास वितरण हुन नसक्नु ठुलो कमजोरी हो । कार्यक्रमस्थलमा सबैलाई सम्मानपूर्वक व्यवहार गर्ने आयोजक समितिको चाहना हुँदाहुँदै पनि ब्यबस्थापन पक्छमा यदि कुनै हेलचेक्र्याइँ हुनपुगेको वा कार्यक्रममा उपस्थित समाजसेवी, बरिष्ठ व्यक्तित्व, पत्रकार, दर्शकहरुको भावनामा जान अन्जान कुनै ठेस पुग्न गएको भए कार्यक्रम संयोजकको तर्फबाट म सम्बन्धित सबैसंग क्षमा माग्न चाहन्छु ।

केहि कमीकमजोरी भएपनि सबै मिलेर काम गर्दा यति ठुलो स्तरको नमुनायुक्त कार्य पनि गर्न सकिदो रहेछ भन्ने संदेश यस कार्यक्रमले स्पष्टसंग देखाएको छ ।

कार्यक्रम सम्पन्न भएको भोलिपल्ट अर्थात शनिवार (जुन १३, २०१५) का दिन कार्यक्रममा निशुल्क प्रस्तुति गर्नु भएका राष्ट्रिय कलाकारहरुको सम्मानमा यूएईका लागि नेपाली राजदुत धनन्जय झा ज्यू ले राख्नु भएको रात्रिभोजका बिषयमा केहि संचारमाध्यम र सामाजिक संजालमा प्रकट भएको भ्रामक समाचारको खण्डन गर्दछु । कलाकारहरुलाई प्रशंसा पत्र सहित सम्मानार्थ महामहिम राजदुत ज्यू ले उक्त रात्रिभोजको कार्यक्रम आयोजना गर्नु भएको र कार्यक्रम सफल पार्न अहोरात्र खटिनु भएका सहयोगीहरुलाई समेत निमन्त्रणा प्राप्त भए बमोजिम सहभागिता जनाईएको समेत स्पष्ट पार्न चाहन्छु । कार्यक्रम मार्फत संकलित रकम र कलाकारको सम्मानमा आयोजित उक्त रात्रिभोज नितान्त फरक बिषय हो ।

कार्यक्रमको टिकट बिक्रीबाट संकलित रकम, स्पोन्सरबाट प्राप्त हुने रकम, व्यक्तिगत सहयोग आदिका बारेमा कार्यक्रमका लागि गठित आर्थिक समितिले अझै कार्य गरिरहेको र पुरा विवरण प्राप्त नभैसकेको जानकारी गराउदछु ।

पिडित नागरिकको सहयोगसंग सम्बधित यस्ता अत्यन्तै संबेदनशिल बिषयलाई तोडमोड नगराउन र अनावश्यक भ्रम श्रीजना गरी सौहाद्रपूर्ण माहौललाई नभड्काउन म सम्बधित सबैमा हार्दिक अपिल गर्दछु । दु:खमा परेकाहरुको सहयोगका लागि सधैं एकजुट होऔं । धन्यवाद

कृष्ण प्रसाद भुसाल

(संयोजक)

दैवीप्रकोप राहत तथा उद्धार समिति यूएई

प्रतिक्रिया