गरिबी न्यूनीकरणका लागि डेढ करोड लगानी

इनेप्लिज २०७२ असार १ गते ९:३३ मा प्रकाशित

सुरुङ्गा (झापा), १ असार । जिल्ला विकास समितिअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) ले झापाका ३७ गाविसमा रु एक करोड ५३ लाख ५५ हजार लगानी गरेको छ ।

गरिबी न्यूनीकरण गर्ने मुख्य उद्देश्यले सञ्चालित सामुदायिक विकास पूर्वाधार अनुदान कार्यक्रम अन्तर्गत उक्त रकम लगानी गरिएको हो । एलजीसीडीपीले गाविसमा गठित नागरिक सचेतना केन्द्रमा बाख्रापालन, बङ्गुरपालन, गाईपालन, दूध चिस्यान केन्द्र सञ्चालन तथा आयआर्जनका लागि तरकारीखेती गर्न लगानी गरेको जिल्ला शासन विज्ञ राजकुमार पौडेलले जानकारी दिनुभयो ।

गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत पहिलोचरणमा ३७ वटा समूहलाई रु एक लाखका दरले लगानी गरेको र दोस्रोचरणमा रु तीन लाख १५ हजारका दरले ३७ वटै समूहलाई लगानी गर्न लागिएको उहाँले बताउनुभयो । जिल्ला विकासअन्तर्गत रहेको उक्त कार्याक्रमले नागरिक सचेतना केन्द्रमार्फत राजगढ, घेरावारी, शरणमति, कुमरखोद, गोलधाप, चकचकीलगायतका गाविसमा बाख्रा र बङ्गुरपालनका लागि लगानी भएको बताइएको छ ।

त्यस्तै राजगढको सिमलडाँगीमा दूध चिस्यान केन्द्र सञ्चालनका लागि काम भइरहेको राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएको समुदायलाई लक्षित कार्यक्रम प्रभावकारी हुने जिल्ला शासन विज्ञ पौडेलले बताउनुभयो । यहाँ २५ देखि ३० घरलाई सङ्गठित गरी गाविसमा नागरिक सचेतना केन्द्र गठन गरिएको छ ।

प्रतिक्रिया