माइती नेपालले गर्‍यो सिन्धुपाल्चोकमा जस्ता वितरण

इनेप्लिज २०७२ असार १ गते ९:२३ मा प्रकाशित

Rss_Images_1432893358795_RL-KTM- Dhading Jasta news (6)मेलम्ची, १ असार । चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय संस्था माइती नेपालले सिन्धुपाल्चोक जिल्लाको इचोक–८ मा भूकम्पपीडितलाई अस्थायी आवासका लागि जस्तापाता वितरण गरेको छ ।

सो संस्थाले इचोक– ८ का दुई सय ३० परिवारलाई जस्तापाता उपलब्ध गराएको हो । संस्थाका कार्यकारी निर्देशक विश्वराम खड्काका अनुसार संस्थाले यस अगाडि महाङ्काल गाविस वडा नं ६ र ७ मा तथा मेलम्ची नगरपालिका वडा नं १२ शिखरपुरका सम्पूर्ण दलित परिवार र किउल गाविसका वडा नं १ मा समेत जस्तापाता वितरण गरेको छ ।

सोमबार संस्थाका संस्थापक सदस्य तथा नेपाली काँग्रेसका युवा नेता तारानाथ दाहालले सो जस्तापाता वितरण गर्नुभएको थियो ।

चेलीबेटी बेचबिखनको सामाजिक अपराध उच्च जोखिममा रहेको सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाविसमा माइती नेपालले राहत वितरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

निर्देशक खड्काका अनुसार भूकम्पग्रस्त क्षेत्रका किशोर–किशोरी एवम् बालबालिका लक्षित गरेर माइती नेपालले छिट्टै प्रभावकारी नयाँ अभियान थालनी गर्न लागेको छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले पनि माइती नेपालको थप सक्रियता आवश्यक रहेकाले तत्काल सो क्षेत्रमा प्रहरीको सहकार्यमा केही जाँचकेन्द्र सञ्चालन गर्ने र जनचेतनामूलक कार्यक्रम अगाडि बढाउन माइती नेपाललाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया