इलाममा एघार महिनामा तीन सय ४४ थान मुद्दा फछ्र्योट

इनेप्लिज २०७२ असार १ गते ९:२१ मा प्रकाशित

ilam_nepal_mapइलाम, १ असार । जिल्ला अदालत इलामले सर्वाेच्च अदालतले निर्धारण गरेको मापदण्डभन्दा पनि बढी प्रगति हासिल गरेको छ ।

सर्वोच्च अदालतले जिल्ला अदालतलाई पाँच सय थान मुद्दा ननाघ्ने जिल्लाको सूचीमा राखेपनि इलाममा चालु आवको ११ महिनामा पाँच सय ४१ थान मुद्दा दर्ता भएको र यीमध्ये तीन सय ४४ थान फछ्र्योट भइसकेको अदालतले जनाएको छ ।

तीन सय ४९ थान मुद्दा फस््र्योटको लक्ष्य लिएको जिल्ला अदालतले अहिलेसम्म तीन सय ४४ थान मुद्दा फैसला गरी ६३.५८ प्रतिशत प्रगति हासिल भएको जनाएको छ ।

“सर्वोच्चले निर्धारण गरेको मापदण्डभन्दा बढी ४१ थान मुद्दा दर्ता भएको र असार मसान्तभित्रमा करिब मुद्दाको सङ्ख्या छ सयको हाराहारीमा पुग्ने अनुमान गरेका छौँ”, जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाले भन्नुभयो – “मुद्दा सङ्ख्या बढे पनि लक्ष्यको नजिक–नजिक पुगिसकेका छौँ ।

अदालतप्रति जनविश्वास बढ्दै गएकाले पनि मुद्दा दर्ताको सङ्ख्या बढेको हुनसक्ने न्यायाधीश ढुङ्गाना बताउनुहुन्छ । जिल्ला अदालत इलामले दुई वर्ष नाघेका मुद्दा एउटै नभएको, डेढ वर्षका दुई वटा र एक वर्ष अवधिका आठ÷नौ वटा मात्र मुद्दा फछ्र्याेट हुन बाँकी रहेको जनाएको छ ।

जिल्ला अदालत इलामले गत वर्षदेखि नै लगातार सुनुवाइको अवधारणाअनुसार काम गरिरहेकाले अदालतको फैसलामा चित्त नबुझेकालाई पुनरावेदन र सर्वाेच्च अदालत जान सहज होस् भनेर मुद्दाको सुनुवाइ छिटो गर्न थालिएको न्यायाधीश ढुङ्गानाले बताउनुभयो ।

अदालतले बलात्कार, आगलागी, ठगी, ज्यान, अपहरण, मानव बेचबिखन, चोरीजस्ता आठ किसिमका मुद्दालाई लगातार सुनुवाइको अवधारणाअनुसार फैसला गर्न थालिएको अदालतले जनाएको छ ।

पछिल्लो समयमा इलाममा सम्बन्धबिच्छेदका मुद्दा दर्ता पहिलो र बलात्कारका मुद्दा दोस्रो स्थानमा रहेको जिल्ला अदालतले जनाएको छ ।

सम्बन्धविच्छेद ठूलो समस्याका रुपमा देखिन थालेको बताउँदै जिल्ला न्यायाधीश ढुङ्गानाले भन्नुभयो –“वैदेशिक रोजगारीका कारण सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन्, यो गम्भीर समस्याको रुपमा देखिएको छ ।” सम्बन्धविच्छेदका मुद्दामा पनि श्रीमान्÷श्रीमतीले अंश र लेनदेनमा मिलापत्र गर्ने गरेका छन् ।

प्रतिक्रिया