पूर्व सभासद् चौधरी तरकारीखेतीमा

इनेप्लिज २०७२ जेठ ३२ गते ११:०३ मा प्रकाशित

tarkari-khatiधनगढी, ३२ जेठ । एकीकृत नेकपा (माओवादी)का नेता एवम् पूर्व सभासद् कृष्णकुमार चौधरी अहिले व्यावसायिक तरकारीखेतीमा लाग्नुभएको छ ।

कैलालीको मसुरिया–७ शङ्करपुर गाउँ निवासी पूर्व सभासद् चौधरी देशको विकास कृषि क्रान्तिबाट मात्रै सम्भव रहकाले आफू तरकारीखेतीमा लागेको बताउनुहुन्छ । सभासद् चौधरी देशमा अब आर्थिक क्रान्ति जरुरी भइसकेको बताउनुहुन्छ । नेताहरु देशका अगुवा भएकाले उनीहरुले नीतिनिर्माणको कामका साथसाथै उत्पादनमूलक काममा पनि लाग्नुपर्छ भन्ने सन्देश दिन आफूले व्यावसायिक तरकारीखेती गरेको बताउनुहुन्छ ।

“राजनीतिक परिवर्तनपछि आर्थिक क्रान्ति जरुरी छ, तर यसमा ठोस पहल हुन सकेको छैन” पूर्व सभासद् चौधरीले भन्नुभयो । उहाँले मसुरियाको शङ्करपुरमा पाँच कट्ठा जग्गामा तरकारीखेती गर्नु भएको छ । एउटा खेतीबाट रु ३० हजारभन्दा बढीको कारोबार हुने गरेको उहाँको भनाइ छ । हाल बर्खे तरकारीखेतीको तयारीमा रहनुभएका चौधरीले थप पाँच कट्ठा जग्गामा तरकारीखेती विस्तार गर्ने योजना बनाउनुभएको छ ।

पूर्व सभासद् चौधरी एकीकृत नेकपा (माओवादी) कैलाली जिल्ला कार्य समितिका सचिवसमेत रहनुभएको छ । चौधरी विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया