विश्वविद्यालयमा तालाबन्दी, काम पूरै ठप्प

इनेप्लिज २०७२ जेठ ३२ गते ६:५३ मा प्रकाशित

Talabandiतुलसीपुर (दाङ), ३२ जेठ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राखेर गत वैशाख २२ गतेदेखि लगाएको तालाबन्दी अझै खोलिएको छैन ।

नेवि सङ्घलगायतका विद्यार्थी सङ्गठनहरुले विश्वविद्यालयका कुलसचिव जगतप्रसाद उपाध्यायसँंग यसअघि भएको सहमति कार्यान्वयनको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, केन्द्रीय आयुर्वेद विद्यापीठ र आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

लामो समयदेखि तालाबन्दी भएपछि विश्वविद्यालयका सबै काम पूर्ण रुपमा प्रभावित भएका छन् भने केही परीक्षा सञ्चालनमा समेत समस्या आएको छ ।

यसैबीच आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच आइतबार ताला खुलाउने विषयमा करिब चार घन्टासम्म भएको छलफल कुनै टुङ्गोमा पुग्न नसकेको र आज पनि छलफल गरिने विश्वविद्यालयका नेवि सङ्घ इकाइ सभापति स्थानेश्वर गौतमले बताउनुभयो ।

विश्वविद्यालय प्रशासनले भने विगतमा विद्यार्थीसँग माग पूरा गर्न सहमति भए पनि अहिले तत्काल नै सबै कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको जनाएको छ ।

प्रतिक्रिया