कक्षा १२ को परीक्षा सम्पन्न, रोकिएको परीक्षा १४ गतेदेखि

इनेप्लिज २०७२ जेठ ३१ गते १०:३५ मा प्रकाशित

Exam-12.भक्तपुर, ३१ जेठ । उच्च माध्यमिक शिक्षा परिषद्ले गत २० गतेदेखि ६८ जिल्लामा सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि सम्पन्न भएको छ ।

परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षामा तीन लाख ८४ हजार ४१३ परीक्षार्थीको सहभागिता रहेको थियो ।

परिषद्ले भूकम्पबाट अतिप्रभावित भएका सात जिल्ला गोरखा, धादिङ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका परीक्षा भने असार १४ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले रोकिएको सात जिल्लाको कक्षा १२ को परीक्षा असार १४ गतेदेखि सञ्चालन हुने बताउनुभयो । सात जिल्लामा १९ हजार १९६ जना परीक्षार्थीको सहभागिता रहने भएको छ ।

त्यसैगरी, परिषद्ले असार १ देखि १२ गतेसम्म कक्षा ११ को परीक्षा सञ्चालन गर्ने भएको छ । कक्षा ११ को परीक्षामा तीन लाख ८६ हजार २९३ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक अर्यालले जानकारी दिनुभयो ।

भूकम्पबाट अतिप्रभावित सात जिल्लामा भने कक्षा ११ को परीक्षा असार २४ गतेदेखि सुरु हुने भएको छ । सात जिल्लाबाट २१ हजार ५५८ जना परीक्षार्थीको सहभागिता रहने भएको छ ।

परीक्षाका लागि ८४६ वटा परीक्षा केन्द्र र ८४६ जना केन्द्राध्यक्ष तोकिएका छन् । परीक्षा अवधिभर १० हजार ९९८ जना सुरक्षाकर्मीलाई खटाइने छ ।

प्रतिक्रिया