भक्तपुर, ३० जेठ । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संविधान जारी गरेलगत्तै सुशील कोइरालाले प्रधानमन्त्रीको पद छाड्ने बताउनुभएको छ ।
रफत् सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बडूले संविधान जारी नभएसम्म प्रधानमन्त्रीको विकल्प नभएको बताउनुभएको हो ।
अहिले पनि सरकारमा आउन सबै दललाई काँग्रेसले ढोका सधैँ खुला राखेको बताउँदै उहाँले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप पनि दिन सकिने धारणा राख्नुभयो ।
संविधान जारीपछि सरकारको नेतृत्व एमालेलाई दिइने पूर्व सहमति रहेको बताउँदै प्रवक्ता बडूले विपत्पश्चात् जेठ २५ गतेको भूमिकाले अब संविधान जारी हुने निश्चित भएको बताउनुभयो ।
गैरसरकारी तथा विदेशी दातृ संस्थाले आफ्नो उद्देश्य पूरा गर्न एकद्वार प्रणाली लागू हुन नदिएको चर्चा गर्दै उहाँले राहत वितरणमा भएको भ्रष्टाचारको छानबिन हुने बताउनुभयो ।
सरकारले भौतिक पूर्वाधारको विकाससँगै छरिएर रहेका बस्तीलाई एकीकृत गरी सामूहिक बस्तीको अवधारणा ल्याएको उहाँको भनाइ थियो ।
प्रतिक्रिया