घरदैलो अभियानमा पुनरावेदन अदालत इलामका न्यायाधीश

इनेप्लिज २०७२ जेठ ३० गते १५:२१ मा प्रकाशित

ilam_nepal_mapइलाम, ३० जेठ । जिल्लामा पहिलो पटक पुनरावेदन अदालत इलामका न्यायाधीशसहितको टोली जनताको घरदैलोमा पुगेका छन् ।

न्यायिक संवाद (आउट रिच) कार्यक्रमअन्तर्गत पुनरावेदन अदालतका निमित्त मुख्य न्यायाधीश रमेश पोखरेल, न्यायाधीश माधवप्रसाद पोखरेल, प्रमोदकुमार वैद्यसहितको टोलीले श्रीअन्तु र समालबुङ गाविसमा अदालती प्रक्रिया र जनताले न्यायाधीश भेट्न हुँदैन भन्ने पुरातन मान्यतालाई हटाउँदै न्यायाधीश र जनताको सम्बन्ध सुमधुर पार्न घरदैलो अभियान सुरु गरेका हुन् ।

अदालतका बारेमा गाउँ तहमा पुगेर जनताको धारणा बुझ्ने, अदालती प्रक्रिया, कानुन आदि विषयमा जनतालाई जानकारी गराइएको पुनरावेदन अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताउनुभयो ।

घामको पहिलो किरण अन्तुबाट सुरु भएजस्तै यो कार्यक्रम श्रीअन्तुबाट सुरु भएर जिल्लाका सबै गाविसमा पु¥याउने लक्ष्यका साथ श्रीअन्तु र समालबुङ गाविसका बीचमा पर्ने पर्यटन सूचना केन्द्रमा कार्यक्रम आयोजना गरिएको भट्टराईले बताउनुभयो ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीले सम्बन्धबिच्छेद, जबर्जस्ती करणी, रिट, बन्दी प्रत्यक्षीकरणजस्ता मुद्दामा राखेको जिज्ञासा निमित्त मुख्य न्यायाधीश पोखरेलले स्पष्ट पार्नुभएको थियो । उहाँले न्यायाधीशहरू जिल्लामा बस्छन्, भेट्न पाइँदैन भन्ने जनताको सोचलाई तोड्दै जनतासँग सुमधुर सम्बन्ध राखेर अघि बढ्ने अदालतको उद्देश्य रहेको बताउनुभयो ।

न्यायाधीशहरु गाउँघरमै आउँदा दुई गाविसका जनता उत्साहित भएको पाइयो, श्रेस्तेदार भट्टराईले भन्नुभयो “जनताले नबुझेका अदालती प्रक्रिया र वर्तमान कानुनबारे धेरै बुझे । आगामी दिनमा पनि यस्तो कार्यक्रम ल्याउन सुझाव दिए ।” पुनरावेदन अदालतले असार १५ मा जिल्लाकै अर्काे गाविसमा न्यायिक संवाद कार्यक्रम गर्ने जनाएको छ ।

न्यायिक संवाद कार्यक्रममा अधिवक्ता उत्तम पौडेल, मदन खड्का, श्रीअन्तुका गाविस सचिव अर्जुन थापा, समालबुङ गाविस सचिव इन्दिरा लामा, रजिस्ट्रर हरिराज कार्कीलगायतले अदालतले सुरु गरेको घरदैलो अभियानले जनतालाई अदालती प्रक्रियाका बारेमा ज्ञान भई अदालतको कार्यसम्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया