भूकम्पले देशभरका ३४ कारागारमा क्षति

इनेप्लिज २०७२ जेठ २९ गते ११:२१ मा प्रकाशित

jail-650x250काठमाडौँ, २९ जेठ । भूकम्पले देशभर ३४ वटा कारागारमा क्षति पुगेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

भूकम्पले सिन्धुपाल्चोक कारागार पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने यहाँ रहेका २१६ कैदीबन्दीमध्ये २१३ जना भागेको विभागका महानिर्देशक हिमनाथ दवाडीले जानकारी दिनुभयो ।

“काठमाडौँको केन्द्रीय कारागार, जगन्नाथ देवलबाट तीन र डिल्लीबजार कारागारबाट एक जना बन्दी भागेकामा विभागको निर्देशनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना प्रकाशन गरेपछि भागेका २१३ मध्ये ४० जना बन्दी सम्पर्कमा आएका छन्”– महानिर्देशक दवाडीले भन्नुभयो ।

अन्य कारागारमा थुनिएका बन्दीको मानवीय क्षति नभए पनि केन्द्रीय कारागारका १६ जनाको भवन भत्किएर मृत्यु भएको छ । “मृतक बन्दीका परिवारलाई पनि भूकम्पमा परी मरेका अन्य नागरिकसरह किरिया खर्च दिइएको छ”– विभागका निर्देशक मोहन वाग्लेले भन्नुभयो ।

कारागारमा स्थान अभावले १०० जना क्षमता भएको स्थानमा २०० जना बन्दी राख्नुपरेको महानिर्देशक दवाडी बताउनुहुन्छ । “कैदी कोचेर राख्नुपर्दा प्राकृतिक प्रकोपका बेलामा बढी क्षति हुने गरेको छ, प्रायः कारागारका भवन पुराना भएकाले पनि भौतिक क्षति भएको छ”– उहाँले भन्नुभयो ।

सहरी विकास तथा भवन निर्माण विभागका कर्मचारीको वेफुर्सदीले क्षति पुगेका ३४ वटै कारागारको प्राविधिक परीक्षण हुन नसकेको विभागले जनाएको छ । अहिलेसम्म १६ वटा कारागारको मात्र प्राविधिक परीक्षण भएको छ, जसमा रु १६ करोड २२ लाखको क्षति भएको र अन्य कारागारको प्राविधिक परीक्षण हुने क्रममा रहेको छ ।

प्रतिक्रिया