प्रवासीद्वारा गाउँलाई एम्बुलेन्स सहयोग

इनेप्लिज २०७२ जेठ २९ गते १:२७ मा प्रकाशित

ambulanceबलेवा (बागलुङ), २९ जेठ । रोजगारीको सिलसिलामा जापानमा रहेका गाउँका युवाहरुले आफ्नो गाउँका लागि एम्बुलेन्स सहयोग गरेका छन् ।

गलकोट सेवा समाज जापानले स्थानीय गलकोट प्राथमिक स्वास्थ्य केन्द्रको मातहतमा रहने गरी एम्बुलेन्स सहयोग गरेका हुन् ।

उपचार अभावमा आफ्ना गाउँलेले अकालमा ज्यान गुमाउन नपरोस् भनेर एम्बुलेन्स सहयोग गरेको समाजका उपाध्यक्ष याम खत्रीले बताउनुभयो ।

सामान्य रोगको उपचारका लागिसमेत सदरमुकाम तथा पोखरा, काठमाडाँैलगायत ठूला सहरमा जानुपर्ने बाध्यता भएकाले सस्तो र सुलभरुपमा स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन आफूहरुले एम्बुलेन्स सहयोग गरेको उहाँको भनाइ छ ।

नियमितरुपमा एम्बुलेन्स सञ्चालन गर्न सकियोस् भनेर बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले अक्षय कोषको स्थापना गरिदिएको छ ।

आर्थिक अभावका कारण एम्बुलेन्स थन्काएर राख्न नपरोस् भनेर समितिले रु १० लाखको अक्षयकोष स्थापना गरिदिएको हो । उक्त अक्षयकोषबाट एम्बुलेन्सको व्यवस्थापनका साथै गरिव विपन्नका लागि निःशुल्क सेवा प्रवाह गर्ने गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक त्रिभुवन भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया