धेरै पानी परेकाले ताप्लेजुङमा पहिरोः भूगर्भविद्

इनेप्लिज २०७२ जेठ २८ गते १४:२१ मा प्रकाशित

taplejungकाठमाडौँ, २८ जेठ । भूगर्भ एवम् मौसमविद्ले भूकम्पले हल्लिएर कमजोर भएको जमिनमा धेरै पानी परेकाले ताप्लेजुङमा पहिरो गएको बताएका छन् ।

ताप्लेजुङमा विसं २०४५ पछि ठूलो पानी परेकाले पहिरो गएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समेश श्रेष्ठ आज बिहान ८ः४५ बजे ताप्लेजुुङमा १२९ मिलिलिटर पानी परेको मापन गरिएको बताउनु भयो ।

“ताप्लेजुङमा २७ वर्षपछिकै ठूलो पानी परेको छ, विसं २०४५ मा १३४ मिलिलिटर पानी परेको मापन गरेपछि अहिले १२९ मिलिलिटर पानी मापन गरिएको छ, यो पानीको मात्रा धेरै नभएपनि थोरै पनि होइन, यसैले पहिरोको जोखिम निम्त्यायो”–उहाँले भन्नुभयो ।

ताप्लेजुङको बर्षाद्बाट मनसुन प्रवेश नभएको पनि महाशाखाले जनाएको छ । मनसुन प्रवेश हुन अझै दुई तीन दिन बाँकी भएको मौसमविद् श्रेष्ठ बताउनुहुन्छ । अब मनसुनअघि पूर्वका जिल्लामा १२९ मिलिलिटर भन्दा ठूलो पानी पर्ने सम्भावना रहेको छैन ।

भूगर्भविद् प्राडा मेघराज धिताल १०० मिलिलिटर भन्दा धेरै पानी पर्दा पहिरोको जोखिम बढ्ने गरेको पूर्वअनुभव सुनाउनुहुन्छ । “विसं २०५० मा कुलेखानीमा, त्यसपछि पोखरामा र गतवर्ष दार्चूलामा पनि पानीको मात्राकै कारण पहिरो गएको थियो, ताप्लेजुङमा त्यस्तै भएको हो,” उहाँले भन्नुभयो ।

पहिरोकै विषयमा विद्यावारिधि गर्नुभएका त्रिभुवन विश्वविद्यालय इन्जिनीयरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा वसन्तराज अधिकारी पानी धेरै परी ताप्लेजुङका भिराला स्थानमा पहिरो गएको बताउनुहुन्छ ।

प्रतिक्रिया