अज्ञात रोगबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या पाँच पुग्यो

इनेप्लिज २०७२ जेठ २८ गते ४:५३ मा प्रकाशित

लहान, २८ जेठ । पाँच दिनदेखि सिरहाको चन्द्रअयोध्यापुर गाविस–६ स्थित दलित बस्तीमा फैलिएको अज्ञात रोगका कारण हिजो साँझ थप एक जनाको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पछिल्लो पटक हिजो मृत्यु हुनेमा चन्द्रअयोध्यापुर–६ निवासी ३० वर्षीय सुनिल सदा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला अस्पतालले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सिफारिस गरे पनि सदाले थप उपचार गराउन जान नमानेर घर गएको घरमै उनको मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा दयाशङ्करलाल कर्णले जानकारी दिनुभयो ।

यसअघि अज्ञात रोगका कारण चन्द्रअयोध्यापुर गाविस–६ निवासी ३२ वर्षीय जिवसी सदा, ३५ वर्षीय तुलवा सदा, ६५ वर्षीय गर्वा सदा र लहान नगरपालिका–२ निवासी कौशिल्या सदाको मृत्यु भएको थियो ।

एक्कासि रिगङ्टा चल्ने र बान्ता आउने जस्ता लक्षण देखा परेको र केही दिनमै बिरामीको मृत्यु हुने गरेकाले स्थानीयवासी त्रसित बनेका छन् । अज्ञात रोगबाट प्रभावित सो बस्तीका २० जनाभन्दा बढी बिरामीको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको जनस्वास्थ्य प्रमुख डा कर्णले बताउनुभयो ।

बिरामीको रगत परीक्षणका लागि राजधानी पठाएको र स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि मात्र रोगको पहिचान हुने भएको डा कर्णको भनाइ छ ।

बस्तीभरि नै रोगको प्रकोप फैलिएकाले प्रभावित स्थानमा चिकित्सक टोलीसमेत परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया