भूकम्पले ज्यान गुमाएकाको परिवार दरबारस्क्वायरमा बसेर भावविह्वल हुँदा सबैका आँखा रसाए

इनेप्लिज २०७२ जेठ २८ गते ४:४४ मा प्रकाशित

232भक्तपुर, २८ जेठ । साँझ ढल्किँदै थियो, विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको दरबारस्क्वायरमा मानिस खचाखच थिए । भूकम्पमा परेर ज्यान गुमाएका भक्तपुरका ३३४ जनाको तस्बिर दरबारस्क्वायरको लामोपाटी, शिव मन्दिर र राष्ट्रियकला सङ्ग्रहालयको पेटीमा लहरै राखिएको थियो ।

प्रत्येक तस्बिरमा फूलको गुच्छा अर्पण गरिएको थियो भने अगाडि लहरै राखिएको दियोमा आफन्तले बत्ती बालिरहेका थिए । तस्बिरमा बत्ती बाल्दाबाल्दै कोही भक्कानिएर रुँदै थिए, कोही सम्झाउँदै ।

मानवीय आस्था नेपालले बुधबार साँझ भक्तपुरको दरबारस्क्वायरमा आयोजना गरेको भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि एवम् दीपप्रज्वलन कार्यक्रममा साँझपख भूकम्पमा ज्यान गुमाएकाको सम्झना गर्दै निकैले आँसु बगाए । साँझपखको त्यो क्षण आफन्त गुमाएकाको आँसु देख्दा कार्यक्रममा सहभागीको आँखा पनि उत्तिकै रसाएँ ।

भक्तपुर नगरपालिका–३ तचपाल मको गल्लिकी ३५ वर्षकी कञ्जन लवजुको भूकम्पमा आफ्नै घरले थिचेर ज्यान गुमाएका पति श्रीकृष्ण, १० वर्षको छोरा युनिस र दुई वर्षको छोरी युरिकाको लहरै राखिएको तस्बिर अगाडिको दियोमा बत्ती बाल्दा आँसु थाम्नै सकिनन् । प्रेम विवाह गरेर जीवनलाई अगाडि बढाउँदै आएको परिवारलाई भूकम्पले खोसेपछि यतिखेर उनी एक्लो भएकी छिन् । काकाको घरमा बस्दै आएकी कञ्चनको आफ्नै बस्ने थलोसमेत छैन ।

भक्तपुर २ की एलिसा दुमरी आमा सरस्वती दुमरुको तस्बिर हेर्दै निकै रोइन । लहरै राखिएका तस्बिर देखेर मन बुझाउने पनि थिए कतिपय । तर पनि आँखा सबैका रसाएका थिए । भक्तपुर–२ कै नानीमैया कोजू पति सीताराम र २३ वर्षको छोरा साजनलाई भूकम्पले चटक्क चँुडेर लगेपछि तस्बिर हेर्दै निकै रोइन् । जीवनको सहारा बनेको कान्छो छोरा सविनलाई आमा सम्हाल्नै निकै गाह्रो प¥यो ।

उन्नाइस वर्षकी छोरी सविता गुमाएकी भक्तपुर–२ की कान्छी बोहजु, सासू सर्यमाया र पाँच वर्षकी छोरी निर्वणा गुमाएकी अनिता गाम्बजार नै किन नहुन सबैका आँखा उत्तिकै रसाएका थिए । काकाकी दुईछोरी निरु र निर्मलाको तस्बिर अगाडि बसेर निकै रोइन भक्तपुर–१३ की रामकेशरी भैल । उनलाई सम्हाल्न तीनजना छिमेकीलाई पनि निकैबेर हम्मेहम्मे प¥यो ।

कार्यक्रममा सहभागी उद्योग मन्त्री महेश बस्नेतले त्यो माहोल देखेर भाबुक हुँदै भन्नुभयो– “आकाश पनि रोएको आज, धुम्म छ आकाश, पानी पर्न खोज्दैछ, यो दरबारस्क्वायर पनि उत्तिकै रोएको छ, अब यो शोकलाई शक्तिमा बदल्नुपर्छ ।”

यो माहोल देखेर नायक राजेश हमालले भन्नुभयो– “यो भक्तपुरसँग मेरो पुरानो साइनो छ, चलचित्रको छायाङ्कनमा धेरै समय भक्तपुरमा रमाएको छु म, यो भक्तपुर भताभुङ्ग भएर रुदाँ आफूलाई सम्हाल्न मलाई निकै गाह्रो भएको छ ।”

लुम्बिनी विकास कोषका उपाध्यक्षसमेत रहनुभएका भिक्षु निग्रोडदेखि कार्यक्रममा आएका स्वदेशी तथा विदेशी अतिथिलाई पनि भावविह्वल बनाएको थियो । कार्यक्रममा प्रत्येक मृतकका परिवारलाई प्रतिमृतक रु पाँच हजारका दरले सहयोग रकम प्रदान गरिएको थियो ।

संस्थाले भूकम्पमा ज्यान गुमाएका प्रत्येक व्यक्तिको तस्बिर बनाएर प्रदर्शनी गर्नुका साथै परिवारबाटै दीपप्रज्वलन गर्ने व्यवस्था गरेको महासचिव रवीन्द्र सापकोटाले बताउनुभयो ।

मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जितले विभिन्न दाताबाट सङ्कलित रकमले भूकम्पपीडितलाई टहरा निर्माण गर्नेदेखि राहत रकम दिनेसम्मको सहयोग गर्दै आएको र यसलाई जारी राख्ने बताउनुभयो ।

प्रतिक्रिया