बाबियाचौर (म्याग्दी), २७ जेठ । म्याग्दीको उत्तरी क्षेत्र दानाका बासिन्दाले उच्च मावि सञ्चालन गर्न रु एक करोड २५ लाखको अक्षयकोष स्थापना गरेका छन् ।
आफ्ना छोराछोरीलाई गाउँमै उच्च शिक्षा हासिल गर्ने अवसर जुटाउन दानाका बासिन्दा र विश्वका विभिन्न देशमा रहेका दानावासीले ज्ञानप्रकाश उच्च माविको शिक्षा विकास अक्षयकोषमा रु एक करोड २५ लाख जम्मा गरेका हुन् ।
दाना घर भई हाल बेलायतमा रहेकाहरुको पहलमा अक्षयकोषमा रु एक करोड १५ लाख र गत हप्ता सञ्चालित भुमे पूजा मेला–२०७२ मार्फत रु १० लाख बचत भई कोषमा रु एक करोड २५ लाख सहयोग जुटेको विद्यालयले जनाएको छ ।
बचत भएको रकमको ब्याज ज्ञानप्रकाश उच्च माविका शिक्षकको तलबभत्ता, गरिब विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि परिचालन गरिने भएको छ ।
दिगो आर्थिक स्रोतको अभावमा उच्च मावि सञ्चालन गर्न समस्या भएपछि देश विदेशबाट सहयोग जुटाउन शिक्षा विकास अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेलबहादुर पुर्जाले बताउनुभयो ।
तीन सय ६५ जना बालबालिकाले अध्ययन गर्ने विद्यालयका सात जना निजी स्रोतका शिक्षक कार्यरत छन् । निजी स्रोतका शिक्षकलाई तलब खुवाउन मासिक रु एक लाख ५० हजार आवश्यक पर्ने उच्च माविका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया