बागलुङको ग्वालीचौरमा खार–दाँग मोटरबाटो निर्माण सम्पन्न

इनेप्लिज २०७२ जेठ २६ गते ३:२२ मा प्रकाशित

Baglung_district_locationगुल्मी, २६ जेठ । बागलुङको ग्वालीचौर–७ खारदेखि वडा नम्बर ८ दाँग जोड्ने नौ किलोमिटरको ‘खार–दाँग’ मोटरबाटो निर्माण कार्य सम्पन्न भएको छ ।

जिल्ला विकास समिति बागलुङ सोही ठाउँमा रहेको सिर्जनशील आमा समूह, सामुदायिक वन तथा स्थानीयवासीको सहयोगमा करिब रु ६० लाखको लगानीमा सो मोटरबाटो निर्माण गरिएको मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष चेतनारायण घिमिरेले जानकारी दिनुभएको छ ।

गाउँमा अत्यधिक रुपमा तरकारी, फलफूल, दूधलगायत उत्पादनलाई छिटोछरितो रुपमा बजारसम्म ढुवानी गर्न सहज हुने स्थानीयवासी घनश्याम घिमिरेको विश्वास रहेको छ । साथै वडा नम्बर ८ मा रहेको ऐतिहासिक तथा धार्मिकस्थल थानापति मन्दिरमा पनि मोटरबाटो निर्माण भएपछि पर्यटकको आवागमनका लागि सहज हुने थानापति निमाविका प्रधानाध्यापक खिमराज घिमिरेले जानकारी दिनुभयो ।

साथै, मोटरबाटो निर्माण भएपछि कामकाजका लागि बजार जान तथा बिरामी पर्दा एम्बुलेन्स सेवा पनि सहज रुपमा सञ्चालन गर्न सकिने बताइएको छ । गाउँमा मोटरबाटो निर्माण भएपछि स्थानीयवासीको जनजीवनमा केही मात्रामा भए पनि सहजता थपिने स्थानीयवासी रामु घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया