बैंसरी पहिरोपीडितलाई रिठाबोटमा पुनर्वास गराइने

इनेप्लिज २०७२ जेठ २५ गते ४:३० मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, २५ जेठ । यही जेठ १० गते काफलडाँडाबाट खसेको भीषण पहिरोले भगवती–२ र राम्चे–९ बैँसरी बस्ती पुरिएपछि घरबारविहीन भएकालाई पुनर्वासको पहल सुरु भएको छ ।

बैंसरीका २७ घर पूर्ण रुपमा पुरिएपछि अहिले पिप्ले–४ को राहुपारेमा अस्थायी छाप्रोमा बस्दै आएका पहिरोपीडितलाई दीर्घकालीन बसोबासको व्यवस्था मिलाउन पहल सुरु गरिएको हो । आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पहिरोपीडितको मागअनुसार भगवती–१ रिठाबोटमा बेनी–जोमसोम सडकखण्डमा पर्ने सार्वजनिक जग्गामा पुनर्वासको पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

तत्कालै नापी र मालपोत कार्यालयमार्फत पीडितको यकिन गरी अन्य ठाउँमा जग्गा नभएकालाई स्थायी रुपमा बसोबासका लागि रिठाबोटमा व्यवस्था गर्न पहल गरिने प्रजिअ केसीले बताउनु भयो । बस्ती पुरिएपछि अस्थायी छाप्रोमुनि बस्दै आएका बैंसरीवासीले बर्खा अगावै सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न माग गरेका छन् ।

जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् र सरोकारवालासँग थप छलफल गरी उपयुक्त स्थानको पहिचान गरी पुनर्वासका लागि काम सुरु गर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सार्वजनिक जग्गामा पुनर्वास गराउनका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने प्रावधान रहेको छ । सानो व्यापारिक केन्द्रकै रुपमा रहेको बैँसरी पुरिएपछि स्थानीयवासीको दैनिक गुजारा चलाउने आधारसमेत पहिरोले खोसेको छ ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने रिठाबोट क्षेत्रमै पुनर्वास मिलाए होटल पसल चलाएरै जीविकोपार्जन गर्न सकिने भएकाले आवश्यक पहल गर्न आग्रह गरिएको बैँसरी पहिरोपीडित राहत व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर कार्कीले बताउनुभयो । “होटल र पसल चलाएर बैँसरीका अधिकांशको गुजारा चलेको थियो, पहिरोले बस्तीसँगै पूरै पुर्‍यो, अब कसरी दैनिकी चलाउने”, उहाँले भन्नुभयो । बैँसरी पहिरोपीडित अधिकांशले सडकखण्डकै छेउछाउमा बस्ने इच्छा देखाएका छन् । तर एकै ठाउँमा सबैलाई पुनर्वास गराउनसक्ने उपयुक्त स्थानको अभाव देखिएको भगवती गाविस सचिव भोलानाथ आचार्यले बताउनुभयो ।

प्रतिक्रिया