काठमाडौँ, २३ जेठ । प्रा रामकुमार पाँडेको आध्यात्मिक कृति ‘वैभवशाली बहुमूल्य वस्तु’ आजदेखि बजारमा आएको छ ।
कृतिमा रुद्राक्ष, शालीग्राम, शङ्ख, बोधिचित्तलगायतको धार्मिक तथा वैज्ञानिक महत्व र तीनको प्रयोग तथा पूजा गर्ने विधि समावेश गरिएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पुस्तकको विमोचन गर्दै सनातन धर्म, संस्कृति तथा वैदिक परम्पराको महत्वलाई पुस्तकले उजागर गरेको बताउनुभयो ।
‘‘हाम्रा मौलिक संस्कृति, प्राकृतिक स्रोत तथा साधन र कला साहित्यका बारेमा हामी सम्पन्न भएको भए पनि त्यसलाई संरक्षण गर्न सकेका छैनौँ” उहाँले भन्नुभयो ।
अध्यक्ष थापाले नेपालमा विशिष्ट व्यक्तित्व, विद्वान तथा राष्ट्रवादी चिन्तक राज्यको छायामा परेकामा चिन्ता व्यक्त गर्दै धार्मिक महत्वका विषयमा लेखिएको पुस्तक त्यसका जिज्ञासु तथा अनुसन्धानदाताका निम्ति उपयोगी हुने बताउनुभयो ।
नेपाली भाषा, संस्कृति, कला साहित्यसम्बन्धी करिब चार दर्जन कृतिका लेखक पाँडेले धार्मिक क्षेत्रमा ती वस्तु बहुमूल्य भएर पनि तीनका लेख रचनामा अभाव पाएपछि आफूले सङ्ग्रह गरेको र त्यो नयाँ पुस्ताका निम्ति प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया