विद्यालयमा अस्थायी टहरा निर्माण

इनेप्लिज २०७२ जेठ २२ गते ४:०१ मा प्रकाशित

फलेवास (पर्वत), २२ जेठ । विनाशकारी भूकम्पका कारण विद्यालयको भवन भत्किएपछि खुल्ला आकाशमुनि पढ्न बाध्य विद्यार्थीका लागि अस्थायी टहरा निर्माण गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१७ स्थित विश्वज्योति उच्चमाविमा तीन कोठे टहरा निर्माण गरिएको हो ।

विद्यालयका भवन भूकम्पले क्षतिग्रस्त भएर कक्षा सञ्चालन गर्न समस्या परेपछि तत्कालका लागि बाँस तथा त्रिपालको प्रयोग गरेर तीन कोठे अस्थायी टहरा निर्माण गरिएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अर्जुनप्रसाद जोशीसहित सदरमुकाम कुश्माबजारबाट बिहीबार गाउँमा पुगेको टोलीले टहरा निर्माण गरिदिएको हो ।

टहरा निर्माणपछि तत्कालका लागि कक्षा सञ्चालन गर्न सहज भएको विद्यालयका प्रअ बाबुराम रेग्मीले जानकारी दिनुभयो ।

सो अवसरमा सभासद् जोशीले जिल्लाका झन्डै एकदर्जन विद्यालयमा मर्मत तथा अस्थायी टहरा आफ्नो पहलमा निर्माण गरेको समेत बताउनुभयो ।

टहरा निर्माणपछि बिहीवबरदेखि नै उक्त विद्यालयमा कक्षा सुचारु भएको छ ।

प्रतिक्रिया