अपहृत बालकको शव फेला

इनेप्लिज २०७२ जेठ २१ गते ११:५४ मा प्रकाशित

लहान, २१ जेठ । दश दिनअघि अपहृत सिरहाको सुखीपुर गाविसका श्रवणकुमार भण्डारीकोे शव आज बिहान खेतमा गाडिएका अवस्थामा फेला परेको छ ।

सुखीपुर गाविस–६ स्थित आफ्नै घरबाट गत जेठ ११ गते अपहृत १० वर्षीय भण्डारीको शव सिरहाको मोहनपुर कमलपुर–३ स्थित धान खेतमा गाडिएका अवस्थामा फेला परेको हो । स्थानीयवासीले शौचालय जाने क्रममा कुकुरले मान्छेको शव लुछेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबरपछि जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले उत्खनन गर्दा शव फेला परेको सिरहाका प्रजिअ अब्दुलकलाम खाँले जानकारी दिनुभयो । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया