करोडौँ मूल्य बराबरको काठ नष्ट हुँदै

इनेप्लिज २०७२ जेठ २१ गते ४:४८ मा प्रकाशित

indexलहान, २१ जेठ । जिल्ला वन कार्यालय सिरहाले विभिन्न समयमा तस्करबाट पक्राउ गरेको गोलिया र चिरान काठ नष्ट हुन थालेको छ ।

वन कार्यालय र प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद भएको काठलाई लामो समयदेखि लिलामी प्रक्रियामा नलगी थन्काइ राख्दा रु तीन करोडभन्दा बढी मूल्य बराबरको काठ नष्ट हुन थालेको हो ।

बरामद भएको काठ लिलामी प्रक्रियाद्वारा बिक्री वितरण गरी सक्नुपर्नेमा सो नगरी कार्यालय परिसरमा लामो समयसम्म थन्काएर राख्दा साखु, खयर, मसलालगायत जातका काठ नष्ट हुन थालेको छ ।

लामो समयदेखि निमित्त प्रमुखको भरमा कार्यालय सञ्चालन हुँदै आएकाले काठको लिलामी प्रक्रियामा करिब ४÷५ वर्षदेखि नलगिँदा काठ नष्ट हुन लागेको जिल्ला वन कार्यालय सिरहाका सहायक वन अधिकृत अमरेन्द्र यादवले जानकारी दिनुभयो ।

बढी समयसम्म बाहिर खुलारुपमा काठ राख्दा सडेर नष्ट हुन थालेको छ, उहाँले भन्नुभयो– ‘‘कतिपय त कामै नलाग्ने भएका छन् त कतिपय राम्रो काठ पनि केही समयसम्म अझ यस्तै रह्यो भने बिग्रिन्छ ।” वन कार्यालय परिसरमा अन्दाजी एक हजारभन्दा बढी काठको चिरान थन्काएर राखिएको उहाँको भनाइ छ ।

लामो समयपछि कार्यालय प्रमुख आएकाले अब छिट्टै काठको लिलामी प्रक्रिया सुरु गर्ने सहायक वन अधिकृत यादवले बताउनुभयो ।

प्रतिक्रिया