विज्ञान विषयको शिक्षक नभएको भन्दै विद्यालयमा तालाबन्दी

इनेप्लिज २०७२ जेठ २१ गते १:२७ मा प्रकाशित

Talabandiअर्घाखाँची, २१ जेठ । विज्ञान विषयको शिक्षक नहुँदा आफूहरुको पढाइ प्रभावित भएको भन्दै गौरा मावि ठाडा रजीयाका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन् ।

छ महिनादेखि निमावि तथा मावि तह दुवैमा विज्ञान विषयको शिक्षक नियुक्ति हुन नसक्दा आफूहरुको पढाइ प्रभावित भएको भन्दै गएको आइतबारदेखि विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
मङ्गलबारसम्म ९ र १० कक्षाको पढाइ मात्र बन्द गरेका विद्यार्थीले बुधबारदेखि विद्यालयका सबै कक्षा ठप्प पारेर आन्दोलनमा उत्रेको स्थानीय बासिन्दाले बताएका छन् ।

निमावि तहको विज्ञान विषयको शिक्षक सरुवामा विवाद भएको र माविको विज्ञान राहत दरबन्दीको परीक्षा हुन नसक्दा शिक्षक नभएको भन्ने गुनासो आएको र तत्काल शिक्षक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउन प्रधानाध्यापक र व्यवस्थापन समितिलाई आग्रह गरेको जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले बताउनुभयो ।

निमाविको सरुवा नमिले नयाँ परीक्षा गराउन र मावि विज्ञान राहत दरबन्दीको पनि तत्काल परीक्षा गराएर पढाइ सुचारुका लागि निर्देशन दिएको जिशिअ धामीको भनाइ छ ।

निमाविको शिक्षक सरुवा र माविको नयाँ शिक्षकमा विवाद बढेपछि छ महिनादेखि पढाइ हुन नसकेको हो । छ महिनासम्म शिक्षक नहुँदा पनि शिक्षक नियुक्तिमा कसैले पहल नगरेको आरोप स्थानीयवासीको छ ।

प्रतिक्रिया