एमाले सचिव पक्राउ

इनेप्लिज २०७२ जेठ २० गते १३:५५ मा प्रकाशित

जनकपुरधाम, २० जेठ । सत्तासाझेदार दल नेकपा (एमाले) धनुषाका सचिव लक्ष्मीनारायण यादवलाई प्रहरीले आज पक्राउ गरेको छ ।

धनुषाको सबैलामा भएको हत्या काण्डका फरार अभियुक्त यादवलाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इँले जानकारी दिनुभयो ।

यादवलाई प्रहरीको विशेष टोलीले धनुषाको प्रखे महुवा–४ बाट पक्राउ गरेको बताइएको छ । सबैला नगरपालिकास्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचनसम्बन्धी विवादले उग्र रुप लिएपछि दुईजनाको हत्या भएको थियो ।

यादवलाई उक्त घटनामा मृत्यु भएका रामसेवक राउतको हत्यामा संलग्न रहेको भन्दै पक्राउ गरिएको हो । उनी करिब डेढ महिनादेखि फरार थिए ।

सबैला घटना नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य योगनारायण यादवको संलग्नतामा भएको भन्दै उनीसहित २९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको थियो । विपक्षी बनाइएका २९ जनामध्ये प्रहरीले चारजनालाई पक्राउ गरेको छ भने वैकल्पिक केन्द्रीय सदस्य यादवसहित अन्य फरार छन् ।

प्रतिक्रिया