२०५८ साल जेठ १९ । शुक्रबारको भयानक रात । जुन रात विश्वलाई नै स्तब्ध गराउने गरि राज खान्दानको वंश सकिएको थियो । त्यो त्रासदीपूर्ण र अकल्पनिय घटना भएकोृ पनि १४ वर्ष वितिसकेको छ । पूरै १४ वर्ष दरवार हत्याकाण्ड एउटा जटिल प्रश्नका रुपमा रहिरह्यो । दरबार हत्याकाण्डमा बीरेन्द्रको वंश नाश त भयो, तर हत्याकाण्डका सत्यतथ्य अझै बाहिर आउन सकेको छैन । न त यसको स्वतन्त्र छानबिन नै हुन सकेको छ । आखिर किन र कसले गर्यो बीरेन्द्रको बंश नाश ? प्रश्न अझै अनुत्तरित छ ।
हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्रको संलग्नता रहेको प्रतिवेदन सार्वजनिक भएको थियो, हत्याकाण्डको केही समयपछि । पारिवारिक कारणले दीपेन्द्रले हत्याकाण्ड मच्चाएर आत्महत्या गरेको प्रतिवेदनले ठहर गरेको थियो । दरबार हत्याकाण्डमा तत्कालिन राजा बीरेन्द्रमात्र होइन, वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र पनि मारिए । यसैले दरबार हत्याकाण्डका पछाडि शंकै शंका उब्जिएको छ ।
लामो समयसम्म दिपेन्द्रको साथ रहेका दरबारका पूर्वसचिव डा. विश्वराज शाह लगायतले हत्याकाण्डका पछाडि देवयानी राणासँगको प्रेम सम्बन्धमा मात्र होइन, भारतको समेत हात हुनसक्ने दाबी गरिसकेका छन् । दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएका हुन भन्नेमा पनि बिरोधाभास देखिन्छ । किनकी दिपेन्द्रले बाबुआमाको निकै श्रद्धा गर्थे । आमा बाबुका सामु शिर ठाडो पार्ने आँटसम्म गर्दैनथे । त्यसो भए तिनै दिपेन्द्रले कसरी आफ्ना परिवारकै नाश गरे त ?
एकाथरि, हत्याकाण्डको दोष युवराज दीपेन्द्रलाई देखिन्छन्, अर्काथरि पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारसतर्फ औंला तेर्साउ“छन् । यहीकारण दाजुको हत्यासंगै श्रीपेच पहिरिएका ज्ञानेन्द्रलाई आफूमाथि लागेको हत्याको कालो धब्बा मेटाउन शासनकालभर भरपूरै प्रयत्न गर्नुपर्यो । दरबारबारबाट बाहिरिने क्रममा पूर्वराजा ज्ञानेन्द्रले अमिलो नै पोखेका थिए, आफूलाई हत्याको दोष लगाइएकोमा । तर, पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारसलाई दोष लगाउने प्रमाण अहिलेसम्म भेटिएको छैन । न त राजाबाट जनता बनेका ज्ञानेन्द्र र पारसलाई छानबिनको घेरामा ल्याउने साहस यो बीचमा राज्यले गर्न सकेको छ ।
हत्याकाण्डको पुनः छानविनका कुरा पनि १४ वर्षको अवधिमा पटकपटक उठे । राजनीतिक दलहरुले पनि बारम्बार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाउँदै आए । दोश्रो जनआन्दोलनका क्रममा पनि राजनीतिक दलका नेताहरुले हत्याकाण्डको छानबिन गर्ने अठोट गरेका थिए । तर, त्यो राजनीतिक नाराबाहेक केही बन्न सकेको छैन । माओवादीले सुरुबाटै हत्याकाण्डलाई राजनीतिक षडयन्त्र बताउँदै त्यसमा तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र र केही विदेशी तत्वको हात रहेको दाबी गर्दै आएको छ । तर, हत्याकाण्ड ताकाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवा, गणतन्त्रपछिका प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईसम्मका नेताहरुले हत्याकाण्ड खोतल्ने भनी जनतासमक्ष गरेको बाचा ‘हवाई कुरा’ साबित भइसकेको छ ।
हत्याकाकाण्डका पछाडि विभिन्न कारणहरु रहेका अनुमान पनि भइरहेका छन् । लामो समयसम्म दिपेन्द्रको साथ रहेका दरबारका पूर्वसचिव डा. विश्वराज शाह लगायतले हत्याकाण्डका पछाडि देवयानी राणासँगको प्रेम सम्बन्धमा मात्र होइन, भारतको समेत हात हुनसक्ने दाबी गरिसकेका छन् । यो दाबीका पछाडि केही शंका गर्ने आधार पनि छ, तर यो हत्याकाण्डलाई खोतल्ने हिम्मत कोही पनि नेताहरुले गर्न सकेका छैनन । किनकी हत्याकाण्डको दोष भारतलाई लगाउनु भनेको राजनीतिलाई दाउमा लगाउनु हो भन्ने राम्रैसँग बुझेको छन्, हाम्रा नेताहरुले ।
राजा वीरेन्द्रको शासनकालमा भारतसँग दरबारको सम्बन्ध सुमधुर थिएन । २०४५ सालमा भारतले लगाइदिएको नाकाबन्दी र ०५७ सालमा राजा वीरेन्द्रले संसदबाट पारित नागरिकता विधेयकमा लालमोहर नलगाइ फर्काइदिएका घटनाले भारतसँग दरबारको सम्बन्ध चिसिएको थियो । नेपाललाई आफ्नो अनुकल बनाउन भारतले कमजोर राजा चाहिरहेको थियो । देवयानी राणाको भारत ग्वालियरको राजघरानासँग निकटको नाता सम्बन्ध थियो । यसैले देवयानीसँग दिपेन्द्रको बिहे भए नेपालको शासन सत्तामा भारत हाबी हुनसक्ने आशंका तत्कालिन राजारानीलाई थियो । दरबार हत्याकाण्ड हुनुअघि भारतबाट आएका एक जना योगी महिना दिनदेखि राजधानीको याक एण्ड यति होटलमा बसेका थिए । उनले दिपेन्द्रलाई तन्त्रमन्त्र गरेका थिए । छाउनीस्थित सैनिक अस्पतालमा दिपेन्द्रको शव हेर्दा छातीमा तन्त्रमन्त्र गरिएको चिलको नंग्रा भएको लकेट भेटिएको थियो । देवयानीसंगको प्रेम सम्बन्धलाई हतियार बनाउंदै राजनीतिक षडयन्त्रबाट दरबार हत्याकाण्ड गराइएकोमा धेरै दरबारियाहरु नजिक पुगेका छन् ।
दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएका हुन भन्नेमा पनि बिरोधाभास देखिन्छ । किनकी दिपेन्द्रले बाबुआमाको निकै श्रद्धा गर्थे । आमा बाबुका सामु शिर ठाडो पार्ने आँटसम्म गर्दैनथे । त्यसो भए तिनै दिपेन्द्रले कसरी आफ्ना परिवारकै नाश गरे त ?
हत्काकाण्ड भएको दरबार खुल्ला भएको छ, जनताका लागि । दरबार त खुल्यो, तर हत्याको रहस्य खुल्ला कि नखुल्ला, जवाफ दिन अहिले पनि गाह्रो छ । किनभने हत्याकाण्डको पुन छानविन हुन नै गाह्रो देखिन्छ । छानविन सुरु भइहाले पनि कैयन प्रमाण नष्ट भइसकेका छन् । हत्याकाण्ड भएको स्थल त्रिभुवन सदन भत्काएर खण्डहर मात्र बाकी छ । वीरेन्द्रको वंश नाश भएको पाँच वर्षपछि त्रिभुवन सदन भत्काइयो । त्रिभुवन सदनका केही इटाका टुक्रा, माटो र वालुवा मात्र बाँकी छ । सडकमा २०६२/६३ को आन्दोलन चर्किरहेको थियो, त्यतिनै बेला नारायणहिटीभित्र त्रिभुवन सदन ढलिरहेको थियो । पहिले नारायणहिटीभित्रको त्रिभुवन सदन ढल्यो, पछि राजतन्त्र नै ढल्यो । भवन र व्यवस्था ढल्दै जान्छन्, इतिहास बन्दै जान्छन् । तर नारायणहिटी हत्याकाण्डको रहस्य भने अस्पष्ट इतिहासका रुपमा रहिरहेको छ ।
दरबार हत्याकाण्डका विषयमा राज्यले छिट्टै सत्यतथ्य खोतल्न आवश्यक छ, यदि दरबार हत्याकाण्ड खोतल्ने साहस दलहरुले नदेखाउने हो भने यस्ता नरसंहार भोली पनि नमच्चिएलान् भन्न सकिन्न । कमसेकम पूर्वराजा ज्ञानेन्द्र र घटनाका प्रत्यक्षदर्शी तत्कालिन पूर्वयुवराज पारसलाई राज्यले अनुसन्धानको दायराभित्र ल्याउन आवश्यक छ । नत्र हरेक बर्ष जेठ १९ गते दरबार हत्याकाण्ड चर्चामा आउनेछ । र, विस्तारै इतिहासको गर्बमा हराउँदै जानेछ ।
प्रतिक्रिया